राजनीति

स्वास्थ्य क्षेत्रमा हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्न सरकार दृढ : प्रम दाहाल

इकागज |
असोज १८, २०८० बिहीबार १७:५३ बजे

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले स्वास्थ्य क्षेत्रमा हुने कुनै पनि प्रकारका अवाञ्छित गतिविधि नियन्त्रण गर्न सरकार दृढ रहेको बताएका छन् । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।

उनले स्वास्थ्यकर्मीहरूलाई पूर्ण भरोसा र आत्मविश्वासका साथ बिरामीको उपचारमा सक्रिय रहन आग्रह समेत गरे । उनले वीर अस्पताललाई अझै विस्तार र सुविधा सम्पन्न बनाउन नेपाल सरकार थप लगानी गर्न प्रतिबद्धता जनाए । उनले नर्सिङ सेवासँग सम्बन्धित देखा परेका जटिलतालाई समाधान गर्नेतिर सरकारले दृढतापूर्वक अघि बढेको जिकिर गरे ।


प्रम दाहालले संविधानमा व्यवस्था भए बमोजिम मौलिक हकहरूको कार्यान्वयनका निम्ति आवश्यक पर्ने कानुन निर्माण, संरचनाको विकास र सेवा प्रवाहका क्षेत्रमा अझै थुप्रै काम गर्न बाँकी रहेको उल्लेख गरे । उनले संविधानप्रदत्त स्वास्थ्य सम्बन्धी हकको कार्यान्वयनका लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान जस्ता सरकारी संरचनाहरूको भूमिका सबैभन्दा महत्वपूर्ण हुने बताए ।

प्रधानमन्त्री दाहालले हरेक लोकतान्त्रिक देश र प्रणालीमा राज्य नागरिकको वास्तविक अभिभावक र संरक्षक रहेको भन्दै राजनीति र जीवन व्यवहार नागरिकको स्वार्थ र हितमा समर्थित गरेर मात्र लोकतान्त्रिक राज्यको औचित्य पुष्टि हुने बताए । गरिब, विपन्न, असहाय एवं उपेक्षित वर्ग, जाति, क्षेत्र, लिंग र समुदायको अधिकार र अवसरका निम्ति राज्यको जिम्मेवारीमा रहेका सबैले कुशलतापूर्वक आफ्नो भूमिका पूरा गर्नुपर्ने बताए । 


Author

थप समाचार
x