राजनीति

'विद्यालय शिक्षा विधेयक निजी विद्यालयलाई पाल्न त आएको होइन ?'

इकागज |
असोज १९, २०८० शुक्रबार १५:२ बजे

काठमाडाैँ– जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदीप यादवले विद्यालय शिक्षा विधेयक, २०८० पुनः लेखनको आवश्यकता रहेको बताएका छन् ।

शुक्रबार विद्यालय शिक्षा विधेयक, २०८० मा भग लिँदै उनले यस्तो बताएका हुन् । उनले शिक्षा विधेयक संवेदनशील विषय भएको भन्दै विधेयक सोचेर बनाउनुपर्ने बताए ।


सांसद यादवले विधेयकमा व्यापक हेरफेर गर्न र व्यापक संशोधन हाल्न जरुरी रहेको उल्लेख गरे । उनले विधेयक निजी विद्यालयलाई पाल्नका लागि त आएको होइन ? भन्दै प्रश्न समेत गरे ।

सांसद यादवले भने, ‘शिक्षा विधेयक संवेदनशील विषय हो । यो विधेयक यस्तो बन्नुपर्छ कि आमाको गर्भमा बच्चा जब रहन्छ, मृत्यु नहुन्जेलसम्म शिक्षा विधेयकले उसको अधिकारलाई सुनिश्चित गर्छ । यो विधेयक सोचेर बनाउनु पर्छ । यो विधेयकको पुनः लेखनको आवश्यकता छ । किनभने यसमा व्यापक हेरफेर गर्न जरुरी छ । यसमा व्यापक संशोधन हाल्न जरुरी छ ।'

सांसद यादवले अगाडि भने, 'यो विधेयक झट्ट हेर्दा कहीँ निजी विद्यालयलाई पाल्नका लागि त आएको होइन, सामुदायिक विद्यालय विस्थापन गर्न त आएको होइन ? निजी विद्यालयले एक दिन आन्दोलन गर्दा घुँडा टेकेको सरकार सामुदायिक विद्यालयले आन्दोलन गर्दा लाठी चार्ज गर्न बाध्य किन भयो त ?'

सांसद यादवले सल्लाह सुझाव लिएको भए त्यस्तो स्थिति नआउने बताए । उनले शिक्षकहरूको आन्दोलन जायज भएकाले सम्झौता गरेको बताए ।

सांसद यादवले सरकारले शिक्षकहरूसँग गरेको सम्झौता अक्षरश पालना हुनुपर्ने जिकिर समेत गरे ।


Author

थप समाचार
x