राजनीति

उपभोक्ता ठगिने काम भए तत्काल पदबाट राजीनामा दिन्छु : उद्योगमन्त्री रिजाल

इकागज |
असोज २२, २०८० सोमबार १८:६ बजे

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उपभोक्तामाथि ठगी गर्ने खालको कुनै पनि काम आफूबाट हुनै नसक्ने बताएका छन् ।​

सोमबार संघीय संसद् प्रतिनिधि सभा अन्तगतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले आफूले उपभोक्ताको नाममा बदमासी गरेको प्रमाणित भए तत्काल पदबाट राजीनामा दिने समेत बताए ।


मन्त्री रिजालले चाडपर्वका बेलामा पनि दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि नियन्त्रण गर्न नसकेको स्वीकार गर्दै आगामी दिनमा त्यसमा सुधार गर्दै लैजाने प्रतिबद्धता समेत व्यक्त गरे । उनले कालोबजारी गर्नेहरूलाई सोही अनुसारको दण्ड सजायको व्यवस्था गर्न कानुनकै अभाव रहेको गुनासो समेत गरे । मन्त्री रिजालले उपभोक्ताहरूमाथि ठगी गर्नेहरूलाई गरिएको दण्ड सजाय असुली गर्न सरकारसँग कुनै मेकानिजम नै नभएको पनि पटकपटक बताए ।

बैठकमा बोल्दै सत्तारूढ दलका सांसदहरूले नै चाडपर्वलाई ध्यानमा राखेर सरकारले आम उपभोक्तामा हित हुने गरी आवश्यक व्यवस्था मिलाउन नसकेको गुनासो गरेका थिए । सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले चिनी जस्ता चाडपर्वमा अतिआवश्यक वस्तुको समेत व्यवस्था गर्न नसकेको भन्दै सरकारको आलोचना गरे । उनले साल्ट ट्रेडिङ र खाद्य संस्थानले आफ्नो काम गर्न नसकेको भन्दै त्यसलाई खारेज गर्नुपर्ने अवस्था आएको पनि बताए ।

नेपाली कांग्रेसकै अर्का सांसद अर्जुननरसिंह केसीले चाडपर्वका बेला बजार अनुगमन गरे पनि सरकारले जनताको चाहना अनुसार सस्तो मूल्यका वस्तुहरूको उपलब्धता गराउन नसकेको बताए । उनले मूल्यवृद्धि निरन्तरको प्रक्रिया जस्तो बन्दा पनि त्यसलाई नियन्त्रण गर्न सरकार लागि नपरेका गुनासो गरे ।

सांसद केसीले मुलुकमा वित्तीय अराजकताको सुरुवात भइरहेको तर्फ पनि सरकारलाई सचेत गराए ।

 

 


Author

थप समाचार
x