सर्वदलीय बैठकमा इजरायल घटना र उद्धारका विषयमा छलफल
सबै दलहरू एक रहेर सहकार्य गर्ने निष्कर्ष
काठमाडौँ- संसदमा प्रतिनिधित्व गर्ने दलहरूले इजरायल घटनाका विषयमा सबै दलहरू एक रहेर सहकार्य गर्ने निष्कर्ष निकालेका छन् ।
सोमबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्रीको आह्वानमा बसेको सर्वदलीय बैठकले दुःखको समयमा सत्तापक्ष, प्रतिपक्ष नभइकन नेपाली जनताको साझा दुःखमा एकै ठाउँमा उभिएर सहकार्य गर्ने निष्कर्ष निकालेको हो । बैठकमा प्रधानमन्त्री प्रचण्डले इजरायल घटनापछि नेपालीको अवस्था बुझ्ने काम भएको सुरक्षित स्थानमा लैजान काम सुरु भइसकेको र स्वदेश आउन चाहने नागरिकका लागि आवश्यक तयारी गरिएको जानकारी गराएका थिए ।
त्यस्तै विभिन्न दलका नेताहरूले नेपाली नागरिकको उद्धार र मृतकको शव छिटो भन्दा छिटो ल्याउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । बैठकपछि माओवादी केन्द्रका नेता हितराज पाण्डेले बैठकमा प्रधानमन्त्रीले सरकारले गरेको निर्णयका बारेमा जानकारी गराएको बताए । उनले प्रभावकारी रूपमा नेपालीहरूको उद्धारको व्यवस्था गर्न सरकारलाई दलहरूले सुझाव दिएको जानकारी दिए ।
त्यस्तै कांग्रेस नेता रमेश लेखकले जोखिममा रहेका नेपालीहरूलाई सुरक्षित ठाउँमा राख्न सरकारले पहलकदमी गर्ने र मृत्युवरण गरेकाको शव छिटो देशभित्र झिकाएर परिवारलाई बुझाउने काम गर्न आग्रह गरिएको बताए ।
त्यस्तै एमाले वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले सरकार सन्तुलन ढंगले प्रस्तुत भएर उद्धारका काम गर्न सुझाव दिएको बताए ।
बैठकमा दलका प्रतिनिधिहरूले सरकारले गरेका निर्णयको कार्यान्वयनमा जोड दिनुपर्ने र आधिकारिक स्थानबाट सही सूचना प्रवाह गर्नुपर्नेमा पनि जोड दिएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया