राजनीति

परराष्ट्रमन्त्री साउदको आग्रह : इजरायलमा व्यक्तिगत वा पार्टीगत भ्रमण नगर्नू

इकागज |
असोज २३, २०८० मंगलबार १४:२६ बजे

फाइल तस्बिर

काठमाडौँ- परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले द्वन्द्वरत मुलुक इजरायलको भ्रमण नगर्न आग्रह गरेका छन् ।​ मंगलबार सिंहदरबारमा बसेको संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा इजरायलमा रहेका नेपालीहरूको अवस्थाबारे जानकारी गराउँदै उनले राजनीतिक तहमा आधिकारिक निर्णयभन्दा बाहेक व्यक्तिगत वा पार्टीगत भ्रमण नगर्न आग्रह गरेका हुन् ।

मन्त्री साउदले १० जना नेपालीहरूको ज्यान जाने गरी इजरायलमा भएका सो दु:खद घटनाको संवेदनशीलतालाई राजनीतिक फाइदा वा बेफाइदाका रूपमा प्रयोग गर्ने काम कुनै पनि तहबाट नहुने विश्वास समेत व्यक्त गरे । इजरायलमा रहेका नेपालीहरूको समस्यालाई सम्बोधन गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध र गम्भीर भएर लागेको उल्लेख गर्दै उनले सो काममा संसदीय समिति र त्यसमा रहेका सांसदहरूको पनि सकारात्मक सहयोगको अपेक्षा आफूले गरेको बताए ।


मन्त्री साउदले सो घटनाका सम्बन्धमा मानवीय संवेदनशीलता, परिवारजनमा पर्ने मानसिक आघात तथा समाजमा पर्ने असरलाई समेत ध्यानमा राखी असान्दर्भिक र असंवेदनशील सामग्रीहरू सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत प्रवाह नगर्न र आ–आफ्नो क्षेत्रबाट जिम्मेवार भूमिका निर्वाह गर्न सबैलाई आह्वान गरे ।

मन्त्री साउदले सो द्वन्द्वको चपेटामा परेका सबै नेपालीहरूको उद्धार गरिएको पनि समितिलाई जानकारी गराए । उनले इजरायलमा रहेका नेपालीहरूको वास्तविक स्थितिको पहिचान गर्न, नेपालीहरूलाई सुरक्षित तवरले रहने प्रबन्ध गर्न, उद्धार तथा सहयोग गर्नका लागि इजरायल सरकारसँग आवश्यक समन्वय र सहजीकरण भइरहेको र त्यस काममा नेपाली राजदूतावासहरूलाई सक्रिय रूपमा परिचालन गरिएको पनि बताए ।

सो द्वन्द्वमा परी १० जना नेपालीको निधन भएको छ भने ४ जना घाइतेको उपचार स्थानीय अस्पतालमा भइरहेको र १ जनासँग अहिले पनि सम्पर्क स्थापित हुन नसकेको सरकारले जनाएको छ । मन्त्री साउदका अनुसार इजरायलको दक्षिण क्षेत्रको तुलनात्मक रूपमा जोखिमयुक्त क्षेत्रमा बंकरभित्र आश्रय लिइराखेका सुदूरपश्चिम विश्वविद्यालयका ३२ जना र कृषि तथा वन विज्ञान विश्वविद्यालयका २३ जना गरी ५५ जनालाई हिजो (सोमबार) इजरायल सरकारको सहयोगमा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । 

 


Author

थप समाचार
x