राजनीति

सिंहको प्रश्न : सूचना नदिइ आक्रमण गरे कब्जामा रहेकाको हत्या गर्ने धम्कीप्रति सरकारले के सोचेको छ ?

इकागज |
असोज २३, २०८० मंगलबार १५:३४ बजे

काठमाडौँ– नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले इजरायलले सर्वसाधारणलाई सूचना नदिइ आक्रमण गरे हमासले कब्जामा रहेकालाई हत्या गर्ने धम्की दिइरहेको भन्दै यसबारेमा सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै सांसद सिंहले सो बारेमा नेपाल सरकारको ध्यानाकर्षण गराए । उनले इजरायल घटना संवेदनशील भएकाले समय समयमा सरकारले त्यहाँको स्थितिबारे ध्यानाकर्षण गराउन आग्रह गरे ।

उनले स्वदेश फर्किन चाहने नेपालीहरूलाई आवश्यक प्रबन्ध मिलाइ चाँडोभन्दा चाँडो ल्याउन आग्रह गरे । युद्ध अझै चर्किन सक्ने अनुमान रहेकाले नेपालीहरूलाई चाँडो स्वदेश फर्काउनुपर्ने उनको भनाइ छ । 


‘खास गरेर राष्ट्र नै शोकमा डुबेको बेलामा यो जुन असोज २० गतेको दिनको जुन आक्रमणबाट इजरायलमा रहेका नेपालीहरूको दुःखको समाचार सुन्नुपरेको छ । यो आकस्मिक रुपमा भएको कारणले गर्दा सरकारले सरकारको तर्फबाट अग्रसरता देखाउनुभएको छ, यो सरकारले गर्नुपर्ने कार्यहरू, यस्तो संकट पर्दा ती संरचना र निकायहरूलाई परिचालन गर्नुपर्नेदेखि लिएर सबै बसेर समन्वय गर्ने काम भइरहेको छ,’ उनले भने, ‘इजरायलमा रहेका नेपालीहरूको अवस्थाको बारेमा जानकारी गराउनुभएको छ । युद्ध नै सुरु भइसकेको अवस्थामा सरकारको तर्फबाट मन्त्रीज्यूले भनिसक्नुभएको छ । नेपाल नै फर्किन चाहनेहरूलाई पनि त्यहाँको दूतावासलाई अलर्टनेसलाई राखेर काम गरिरहनुभएको छ ।’

उनले अगाडि भने, ‘इजरायली सरकार र नेपालमा रहेका राजदूतसँग छलफल जुन गरिरहनुभएको छ । संवेदनशील भएको कारणले समय समयमा जानकारी गराएको खण्डमा राम्रो हुन्छ । तेलेवी एयरपोर्ट अप्रेशनमा छ भन्नुभएको छ, त्यहाँबाट फर्किएर आउने नेपालीलाई चाँडो ल्याइयोस् । हमासले इजरायलले सर्वसाधारणलाई सूचना नदिइ आक्रमण गरे कब्जामा रहेकालाई हत्या गर्ने धम्की आइरहेको छ । यसमा सचेत हुनुपर्छ । यो विषयमा सरकारले के सोचिरहेको छ ?’

नेता सिंहले इजरायलस्थित दूतावासलाई थप निर्देशन दिनुपर्ने बताए ।


Author

थप समाचार
x