राजनीति

उपसमितिले बुझायाे संक्रमणकालीन न्याय विधेयकसम्बन्धी प्रतिवेदन

इकागज |
असोज २३, २०८० मंगलबार १७:१३ बजे

काठमाडौँ- कानुन, न्याय तथा मानव अधिकार समिति अन्तर्गतको उपसमितिले संक्रमणकालीन न्याय विधेयकसम्बन्धी प्रतिवेदन बुझाएको छ ।​ मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकमा उपसमितिले विधेयकमा उल्लेख केही विषयमा सहमति जुटाउँदै प्रतिवेदन बुझाएको हो ।

उपसमितिले मानव अधिकारको गम्भीर उल्लंघनमा समावेश गरिएको स्वेच्छाचारी रूपमा क्रुरतापूर्वक गरिएको हत्या, दोहोरो भिडन्तबाहेक गरिएको हत्यामध्ये कुनलाई समावेश गर्ने भन्ने विषय थप छलफलबाट टुङ्गोमा पुर्याउनुपर्ने जनाएको छ । त्यस्तै सशस्त्र द्वन्द्वका क्रममा जोडिएका र प्रभावित भएका व्यक्तिहरूलाई कसरी सम्बोधन गर्ने भन्ने विषयलाई पनि थप छलफलबाट टुङ्गोमा पुराउन सुझाव दिएको छ भने घटी सजायका सम्बन्धमा आधार कारण खुलाएर सजाय कम गर्न सकिने व्यवस्था गर्ने वा प्रतिशत नै तोकेर जाने भन्ने विषय टुङ्गो लगाउन नसकिएकाले थप छलफल गर्नुपर्ने उपसमितिको निष्कर्ष रहेको समिति सदस्य रमेश लेखकले बताए । लेखकले उपसमितिले प्रतिवेदन तयार गर्ने क्रममा पीडित, विषयविज्ञ लगायत संघसंस्थासँग छलफल गरेर निष्कर्ष निकालेको जानकारी दिए ।


बैठकमा कानुनमन्त्री धनराज गुरुङले संक्रमणकालीन न्याय सम्बन्धी नमिलेका विषयहरूमा गहन छलफल गरेर समितिले एकमत भएर निर्णय गर्नुपर्ने बताए । उनले विधेयकका सम्बन्ध सहमति गरेर चालू अधिवेशनमा नै पेस गर्ने गरी निष्कर्षमा पुग्न आग्रह पनि गरे ।

उपसमितिले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद चार वर्ष राख्ने गरी कानुन बनाउने राय प्रतिवेदनमा उल्लेख गरेको छ । आयोगले उल्लेखित अवधिभन्दा अगावै शान्ति प्रक्रियाको काम सम्पन्न भएको घोषणा गरेमा सोही मितिदेखि आयोगको कार्यावधि समाप्त भएको मानिने प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै बैठकमा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल गर्न गठित उपसमितिले पनि प्रतिवेदन बुझाएको छ ।


Author

थप समाचार
x