राजनीति

इजरायलबाट फर्किन चाहने विद्यार्थीलाई तुरुन्तै नेपाल ल्याउने प्रबन्ध गरिनुपर्छ : जनमोर्चा

इकागज |
असोज २४, २०८० बुधबार १३:२९ बजे

काठमाडौँ– राष्ट्रिय जनमोर्चा पार्टीले इजरायलबाट फर्किन चाहने विद्यार्थीलाई नेपाल ल्याउन सरकारले तत्काल प्रबन्ध गर्नुपर्ने बताएको छ । जनमोर्चाले बुधबार एक विज्ञप्ति जारी गर्दै इजरायलमा हमासको आक्रमणमा परेर मृत्युवरण गर्नेप्रति श्रद्धाञ्जली प्रकट गर्दै फर्किन चाहने विद्यार्थीलाई नेपाल ल्याउन सरकारले तत्काल प्रबन्ध गर्नुपर्ने बताएको हो ।

नेपालबाट ‘लर्न र अर्न’ योजनाअन्तर्गत इजरायलको विभिन्न कृषि फर्ममा काम गर्न र सीप सिक्न गएका १० विद्यार्थीको मृत्यु, केही घाइते र सम्पर्कविहीन भएको समाचार आइरहेकोप्रति जनमोर्चाले दुःख व्यक्त गरेको छ । 


'नेपाली विद्यार्थीहरूले आतंकपूर्ण दैनिकी व्यहोर्नु परेको छ । घटनामा परी ज्यान गुमाउनेहरूप्रति दलको तर्फबाट हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गर्दछौँ । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ,’ पार्टी अध्यक्ष चित्रबहादुर केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘स्वदेश फर्किन चाहने विद्यार्थी तथा घाइतेहरू लाई तुरुन्तै नेपाल ल्याउने प्रबन्ध गरिनु पर्दछ । मृतकको शव स्वदेश ल्याउने यथाशीघ्र व्यवस्था गर्न सरकारसित माग गर्दछौँ ।’
 


Author

थप समाचार
x