राजनीति

‘छिमेकी देशको प्रधानमन्त्री नेपालमा आउँदा परराष्ट्र मन्त्रालयले सरकारलाई जानकारी गराउनु पर्दैन ?’

इकागज |
असोज २५, २०८० बिहीबार १३:४६ बजे

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिना जानकारी नेपाल भ्रमणमा आएको विषयमा परराष्ट्र मन्त्रालयसँग जवाफ मागेका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै लामिछानेले मोदी आज बिहान कालापानीको गुञ्जीमा आएको विषयमा प्रश्न सोधेका हुन् । 

‘मित्र राष्ट्रको प्रधानमन्त्री हाम्रो भूमिमा आउँदा न सरकारले स्वागत गरेको छ न देशलाई यसबारे कुनै जानकारी छ । यत्रो ठूलो भ्रमण गरिएको क्षेत्र हाम्रै देशमा पर्छ । हामीले पास गरेको चुच्चे नक्साभित्र पर्छ,’ उनले भने । 


लामिछानेले यस विषयमा आधिकारिक कुरा बुझ्न आफूले दार्चुलाका प्रमुख जिल्ला अधिकारीसँग फोन सम्पर्क गरेको बताए । अधिकारीले यस विषयमा आफूलाई कुनै जानकारी नभएको र त्यहाँ जान नमिल्ने जवाफ दिएको लामिछानेले सुनाए । 

‘म सरकार र परराष्ट्र मन्त्रालयलाई सोध्न चाहन्छु– छिमेकी देशको प्रधानमन्त्री हाम्रो भूमिमा आउँदा परराष्ट्र मन्त्रालयले सरकार र नेपाल जनतालाई जानकारी गराउनु पर्दैन ?,’ उनले सोधे । 

भारतीय प्रधानमन्त्री मोदी बिहीबार बिहान हेलिकप्टर चढेर नेपालको कालापानी क्षेत्रमा आएका हुन् । 
 


Author

थप समाचार
x