राजनीति

जनमोर्चाले भन्यो– भारतले अन्तर्राष्ट्रिय कुटनीति, मर्यादा तथा शिष्टाचारको उल्लंघन गर्‍यो

इकागज |
असोज २६, २०८० शुक्रबार १५:९ बजे

काठमाडौँ– राष्ट्रिय जनमोर्चा पार्टीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अनुमति नलिइ नेपाल भ्रमण गरेकोमा विरोध जनाएको छ । जनमोर्चाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै मोदीको उक्त कदमको विरोध गरेको हो । 

‘नेपालको कालापानी क्षेत्रमा पर्ने गुञ्जी गाउँमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई पूर्वजानकारी नगराई वा अनुमति नलिइ गरेको भ्रमणको हाम्रो पार्टीले कडा शब्दमा विरोध गर्दछ,’ पार्टी अध्यक्ष चित्रबहादुर केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘‘कालापानी क्षेत्रमा पर्ने गुञ्जी लगायतका गाउँ दार्चुला जिल्लाको ब्यास गाउँपालिकाको वडा नं. १ मा पर्दछन् । कुटी, गुञ्जी, नाभी, न्यूराङ्, छोटाकैलाशसहितको कालापानी क्षेत्र नेपालको सार्वभौमसत्ता र राष्ट्रिय खण्डताभित्र पर्ने भूभाग हुन् ।’


मोदीको उक्त कदमले अन्तर्राष्ट्रिय कुटनीति, मर्यादा तथा शिष्टाचारको उल्लंघन गरेको पार्टीको ठहर छ । भारतको उक्त कार्य नेपालप्रतिको हेपाहा तथा विस्तारवादी नीति भएको जनमोर्चाको जिकिर छ । 

नेपाली भूमि कालापानी क्षेत्रलाई कब्जा गरेर भारतीय संघमा मिलाउन लामो समयदेखि भारतले विभिन्न षड्यन्त्र गरेको पार्टीको भनाइ छ । ‘अहिलेको उनको भ्रमण त्यसैको एउटा कडी हो । भारतीय प्रधानमन्त्रीको भ्रमणबाट पनि कालापानी क्षेत्रको अतिक्रमित भूभाग भारतले सहज रुपमा छोड्ने र आफ्ना सेना फिर्ता लैजाने पक्षमा नभएको नै देखाउँछ,’ विज्ञप्तिमा उल्लेख छ, ‘त्यसैले कालापानीको विवादलाई अन्तर्राष्ट्रियकरण गरिनु पर्दछ ।’

बिहीबार बिहान मोदी हेलिकप्टरबाट नेपालको कालापानी क्षेत्रमा पर्ने गुञ्जीमा आएर पूजाआजा गरेका थिए । नेपाल सरकारलाई जानकारी नदिइ गरिएको उक्त भ्रमणको अहिले चौतर्फी विरोध भइरहेको छ । यो विषयले बिहीबार संसदमा पनि प्रवेश पाएको थियो । 
 


Author

थप समाचार
x