राजनीति

प्रतिनिधिसभाको शून्य समयमा के भने सांसदहरूले ?

इकागज |
असोज २६, २०८० शुक्रबार १५:५७ बजे

काठमाडौँ– प्रतिनिधिसभा सदस्य विमला सुवेदीले खाद्यान्नमा भएको मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सुवेदीले चाडपर्वको समयमा अत्याधिक रूपमा खाद्यान्नको मूल्यवृद्धि भएको र यसको नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराइन् । 
उनले प्रभावकारी बजार अनुगमन गर्न सरकारलाई आग्रह गरिन् । हवाई यातायात र स्थल यातायातमा ठगी हुनसक्ने भन्दै यात्रुको सहज यात्राका लागि ध्यान दिन पनि सरकारसँग उनले आग्रह गरिन् । 

प्रतिनिधिसभा सदस्य भीमप्रसाद आचार्यले स्थानीय तहको कर्मचारी र शिक्षकहरूको समस्यामा सरकार बेखबर रहेको आरोप लगाए । उनले वीर अस्पतालबाट चिकित्सकहरूलाई अन्यायपूर्ण ढंगले निकालिएको बताए । कालोबजारी भइरहँदा पनि सरकार बेखबर बनेको पनि उनको भनाइ छ ।


प्रतिनिधिसभा सदस्य मनिष झाले भूकम्पग्रस्त क्षेत्र बझाङमा यातायातको सरल व्यवस्था गर्न सरकारसँग माग गरे । उनले चाडपर्वको बेलामा सो क्षेत्रमा सहज वातावरण बनाइदिएर राज्य र सरकार छ भन्ने अनुभुति दिलाउनुपर्ने बताए । 

प्रतिनिधिसभा सदस्य माधव सापकोटाले नेपालको उत्पादन पद्धतिमा नयाँ ढंगले सोचेर संरचनागत परिवर्तन गर्न आवश्यक भएको बताए । उनले विद्यमान आर्थिक संकट र चुनौतीहरूलाई संरचनागत परिवर्तन मार्फत् आर्थिक क्रान्तिमा बदल्नुपर्ने बताए । 

प्रतिनिधिसभा सदस्य रघुजी पन्तले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई विजयादशमीको शुभकामना दिँदै नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वतन्त्रता, नेपाली भुमि र नेपाली जनताको स्वाभिमानको कदर गर्न आग्रह गरे । 

प्रतिनिधिसभा सदस्य रणेन्द्र बरालीले दसैको समयमा हुने गाडी दुर्घटनाप्रति सरकार बेलैमा सचेत हुनुपर्ने बताए । उनले दसैँमा दलित समुदायलाई मन्दिर प्रवेशमा रोक लगाउँदा झडप हुने घटनाहरू आउने भन्दै यसतर्फ पनि सरकारको ध्यानाकर्षण गराए । 

प्रतिनिधिसभा सदस्य रामहरी खतिवडाले दशैँको समयमा डेंगीको संक्रमण बढेको भन्दै लामखुट्टे मार्न सरकारले पहल गर्नुपर्ने बताए । 

उनले नेपाल एयरलाइन्सका टिकटहरू महंगो भएको भन्दै यसतर्फ पनि सरकारको ध्यानाकर्षण गराए ।  
 


Author

थप समाचार
x