सद्भाव खल्बल्याउने क्रियाकलापविरुद्ध गम्भीर रूपमा लाग्न प्रहरीलाई गृहमन्त्रीकाे निर्देशन
काठमाडौँ- उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले धार्मिक सामाजिक सद्भाव खल्बल्याउने क्रियाकलापविरुद्ध गम्भीर रूपमा लाग्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् ।
६८ औं प्रहरी दिवसको अवसरमा सोमबार काठमाडौँमा आयोजित अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले केही जिल्लाहरूमा देखिएको धार्मिक र सामाजिक सद्भाव खल्बल्याउने घटनालाई संवेदनशील रूपमा लिनुपर्ने भन्दै यस्ता क्रियाकलापविरुद्ध गम्भीर रूपमा लाग्न नेपाल प्रहरीलाई निर्देशन दिएका हुन् ।
यस्ता घटनाको नियन्त्रण र भविष्यमा दोहाेरिन नदिन सरकार र राजनीतिक पक्ष पनि गम्भीर हुनै पर्ने उनले बताए ।
गृहमन्त्री श्रेष्ठले अपराधका नयाँ प्रकृतिलाई निस्तेज पार्न र गहन रूपमा अनुसन्धान गर्न संगठनलाई थप प्रविधिमैत्री बनाउँदै अघि बढाउनुपर्ने भएकाले प्रहरीलाई आवश्यक स्रोत साधन उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको जिकिर गरे । नेपाल प्रहरीको आवश्यक भूमिका र कर्तव्यबोधले मात्रै मुलुकको समृद्धि, सुशासन र कानुनी राज्यको प्रत्याभूत हुने भएकाले यस तर्फ गम्भीर हुन पनि उनले निर्देशन दिए ।
त्यस्तै नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुँवरले पारदर्शी, जवाफदेही, मानवअधिकारको संरक्षण लगायतमा संगठनको काम कारबाही उत्कृष्ट हुने प्रतिबद्धता जनाए । प्रहरी कर्मचारीको उत्प्रेरणा तथा मनोबल अभिवृद्धि मार्फत प्रहरी सेवा प्रवाहमा प्रभावकारिता वृद्धि गर्दै आन्तरिक सुदृढीकरण र शुद्धीकरणको लक्ष्यसहित नेपाल प्रहरी कार्ययोजना,२०८० तर्जुमा गरिएको उनले बताए ।
कार्यक्रममा प्रहरी दिवस २०८० स्मारिका र नेपाल प्रहरीलाई निःशुल्क जग्गा प्रदान गर्ने जग्गादाताहरूको नामावली तथा अमर प्रहरीसँग सम्बन्धित स्थापना भएका अक्षयकोषहरूको विवरण पुस्तिका लोकार्पण समेत गरिएको थियो भने अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण गरिएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया