राजनीति

बागमती प्रदेश सभा : संक्रमित सदस्यले बैठकमा प्रवेश नपाउने

इकागज |
जेठ १६, २०७८ आइतबार १४:४० बजे

हेटौंडा : बागमती प्रदेश सभाको बजेट अधिवेशन केही बेरमा सुरु हुँदैछ । प्रदेश सभाका कर्मचारीहरूको एन्टिजेन विधिबाट कोभिड–१९ परीक्षण भइरहेको छ । प्रदेश सभामा भएका १९ कर्मचारीमध्ये सबैकोे परीक्षण हुनेछ । यस्तै प्रदेश सभा बैठकमा भाग लिन आएका सदस्यहरुको पनि ऐन्टिजेन विधिबाट कोभिड परीक्षण हुनेछ । उनीहरुको रिपोर्ट पोजेटिभ आए बैठकमा प्रवेश नपाउने प्रदेश सभा सचिवालयका प्रवक्ता विनोद अमात्यले जानकारी दिए । 

यस्तै ३ बजे बस्ने आठौं अधिवेशनको पहिलो बैठकमा प्रदेश प्रमुखले अधिवेशन आह्वान र मन्त्रिमण्डल पुनर्गठनसम्बन्धी पठाएको पत्र सभामुखले पढेर सुनाउनेछन् । दलका नेताहरुले बजेट अधिवेशनको शुभकामना दिनेछन् भने बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले महालेखापरीक्षकको, प्रदेश लोकसेवा आयोग र मुख्य न्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यतालिका छ ।


यसैगरी सार्वजनिक लेखा समितिको तेस्रो वार्षिक प्रतिवेदन समितिका सभापति न्हुक्षेनारायण श्रेष्ठले सभामा पेश गर्ने र प्रदेश सभा सदस्य पशुपति चौलागाईको निधनको शोक प्रस्ताव पेश हुने कार्यतालिका छ ।  


 


Author

थप समाचार
x