पूर्वराजा शाहले सर्वसाधारणलाई लगाइदिए दसैँकाे टीका
फाइल तस्बिर
काठमाडौँ- पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालीहरूको महान चाड विजया दशमीको अवसरमा सर्वसाधारणलाई टीका लगाइदिएका छन् ।
मंगलबार अपरान्ह ४ बजेबाट पूर्वराजा शाहले विजया दशमीको टीका सर्वसाधारणलाई लगाइदिएका हुन् । पूर्वराजा शाहको हातबाट टीका ग्रहण गर्न निर्मल निवासमा सर्वसाधारणहरूको लाइन रहेको छ । त्यस अवसरमा उनको हातबाट टीका ग्रहण गर्ने सर्वसाधारणको भीड लागेको थियो ।
पूर्वराजा शाहले हरेक वर्ष वडा दसैँको विजया दशमीको दिन सर्वसाधारणलाई पनि टीका लगाउँदै आएका छन् । दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसाद ग्रहण गर्नुअघि विधिपूर्वक नौ दिनसम्म नवदुर्गाको आह्वान गरी पूजा आराधना गरिएको दसैँ घर वा पूजा कोठामा देवी विसर्जन गरिन्छ । आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रूप मानेर लगाउने गरिन्छ ।
त्रेता युगमा आजकै दिन भगवान रामले असत्यको प्रतीक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास छ । आज असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने विजयादशमी (बडा दसैँ) को सबैभन्दा महत्वपूर्ण दिन हो ।
आज गुरु पुरोहित, हजुरबुबा, हजुरआमा, पिता, माता, मान्यजन तथा ठूलाबडाको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उनीहरूबाट यश, ऐश्वर्य वृद्धि एवं दीर्घायु प्राप्त होस् भनेर आशीर्वाद लिइन्छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया