राजनीति

गण्डकीको बजेट अधिवेशन : प्रदेश प्रमुख र संघीय बजेटको आलोचना

बजेट सम्मानजनक छ : सरकारका प्रवक्ता

अनिष भट्टराई |
जेठ १६, २०७८ आइतवार २०:२९ बजे

फाइल तस्बिर

पोखरा : गण्डकी प्रदेशकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले शिष्टता नदेखाएको भन्दै यहाँका विपक्षी दलले गुनासो गरेका छन् । प्रदेश सभामा बोल्दै कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल र माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले आफूहरूलाई प्रदेश प्रमुखले शिष्टाचार भेटवार्ता पनि नगरेको बताए । 

‘हामी जत्तिका नेता जाँदा शिष्टाचार भेट पनि हुन दिनुभएन, पत्र त लत्याइदिनुभयो, नेतालाई पनि भेट दिनुभएन,’ चुमानले भने । यस्तै कांग्रेस संसदीय दलका नेता पोखरेलले प्रदेश प्रमुखले आफूहरूको दाबीलाई लत्याएर एउटा किर्ते पत्रका आधारमा मुख्यमन्त्री चयन गरेको बताए । प्रदेश प्रमुख सबै दलको अभिभावकका रुपमा रहनुपर्ने र कुनै पक्षमा लाग्न नहुने उनले सुनाए । ‘सामान्य शिष्ट प्रदर्शन पनि गर्न नसक्ने दुखको कुरा हो, तपाईं अभिभावक भएर बस्नुस्,’ उनले भने । 


प्रदेशको बजेट अधिवेशनमा संघको बजेटको आलोचना

गण्डकी प्रदेश सभाका विपक्षी दलहरूले संघ सरकारले ल्याएको बजेट असंवैधानिक भएको टिप्पणी गरेका छन् । आइतबारबाट सुरु भएको प्रदेश सभाको बजेट अधिवेशनमा संघको बजेटलाई विपक्षी दलहरूले सरकार जोगाउने हेल्मेटको संज्ञा दिए । 

संघीय सरकारका अर्थमन्त्री विष्णु पौडेलले शनिबार आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गरेका थिए । बजेट प्रस्तुति पछि आइतबार प्रदेशको बजेटबारे छलफल गर्न डाकिएको बैठकमा संघ सरकारले ल्याएको बजेट असंवैधानिक भएको भन्दै बित्यो । काम चलाउ सरकारले पूर्ण बजेट ल्याउनु नियमविपरीत रहेको उनीहरूको टिप्पणी थियो । 

नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरलले संघ सरकारले ल्याएको बजेट झुटको पुलिन्दा र चुनावी प्रचारको माध्यममात्र भएको बताए । ‘बजेट वास्तवमा चुनावी प्रचारको माध्यम बनाएर ल्याइएको छ । काम चलाउ सरकारले पूर्ण बजेट ल्याउनु नै संविधानको विरुद्ध हो,’ पोखरेलले भने । दोस्रो पटक विघटित प्रतिनिधिसभा बारे अदालतमा दर्ता भएका रिटमा जे फैसला आएपनि बजेट कार्यान्वयन हुन नसक्ने उनले बताए । ‘विघटन सदर भयो भने चुनावमा जाँदा यो कार्यान्वयन हुन सक्दैन, विघटन बदर भयो भने त यसको कार्यान्वयन कसरी हुन्छ ?’ उनको प्रश्न थियो । 

बजेटमा निशुल्क सिमकार्ड बाँड्ने योजना ल्याइनु पनि आश्चर्यजनक रहेको पोखरेलको भनाइ थियो । प्रधानमन्त्री ओलीले जनताका सबै समस्या समाधान गर्छु भन्ने ढंगले चुनाव केन्द्रीत बजेट ल्याएको उनले सुनाए । ‘बजेट भाषणमा सिम कार्ड बाँड्छु भनेर बस्नु भएको छ, के हो यस्तो ? फेरी सत्तामा आउन यस्तो बनाइएको हो,’ उनले भने ।  सरकारले ल्याएको बजेट संघीयता विरोधी रहेको पोखरेलले बताए । वडाका शौचालयदेखि गाउँपालिकालाई विनियोजन गर्नु संघीयता विरोधी भएको उनले बताए । 

पोखरेलले गण्डकी प्रदेश सभामा गुरुङ सरकारले बजेट ल्याउने प्रक्रिया थाल्न नसक्ने बताए । सरकारसँग बहुमत नरहेकाले बजेट ल्याउन नसक्ने उनले सुनाए । ‘पहिलो पोजिसन क्लियर गरेपछि प्रक्रिया थाल्नुपर्‍यो, पहिला आफूलाई टेस्ट गर्नुपर्‍यो अनि मात्र बजेट ल्याउन पाइन्छ,’ उनले भने । 

माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले प्रदेशको अधिवेशन असामान्य अवस्थामा सुरु भएको तर प्रदेशको भविष्यलाई निर्णायक रहेको बताए । कोभिड र राष्ट्रिय राजनीतिक संकटले असामान्य अवस्था भएको तर यही अधिवेशनले प्रदेशलाई विघटनसम्म लैजान सक्ने उनको आँकलन थियो ।

‘२ असामान्य परिस्थितिबीच अधिवेशनमा छौं, यो अधिवेशनले बजेट निर्माणमा सार्थकता पाओस्, आफ्नो पूरा आयुसम्म टिकोस्,’ उनले भने । अहिलेको अधिवेशनमै प्रदेश सभाको अकाल मृत्यु आउन दिन नहुने उनको भनाइ थियो । प्रदेशमा अहिलेका कुनै दलले सरकार बनाउने अवस्था नभए सबै मिलेर भए पनि सदनलाई स्थायीत्व दिन तयार हुनुपर्ने बताए । 

प्रदेशमा संघ हावी हुँदा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सरकार लत्रिएको चुमानले जनाए । संघीयता र आफूहरूका उपलब्धिमा एमाले भन्दा कांग्रेस खरो उत्रिएपछि आफूहरू कांग्रेससँग मिलेको चुमानले बताए ।  

प्रधानमन्त्री ओली नेतृत्व सरकारले देशका सबै उपलब्धिमाथि प्रहार गरिरहेको चुमानले आरोप लगाए । धर्म निरपेक्षता, संघीयतामाथि दिनहुँ ओली सरकारले प्रहार गरेको उनले बताए । ‘धर्म निरपेक्षता कति दिन टिक्छ थाहा छैन, सबै उपलब्धि माथि प्रहार हुँदै गएको छ, कम्युनिस्ट भन्नेले नै २ पटक सदन विघटन गरे,’ चुमानले भने । 

राष्ट्रिय जनमोर्चाकी सांसद पियारी थापा देश राजनीतिक विकृतिको महामारीमा रुमलिएको बताइन् । ओली नेतृत्वको सरकारले सत्ता जोगाउन गरेको तिकडम जनताको स्वास्थ्य जोगाउन लगाउनुपर्ने सुनाइन् । ‘चुनाव केन्द्रीत बजेट ल्याएर फेरि अर्को तिकडम गर्न खोजिएको छ, सत्ता जोगाउन गरेको तिकडम जनता जोगाउन किन नगर्ने ?’ उनको प्रश्न थियो । 

जनता समाजवादी पार्टी (जसपा) का संसदीय दलका नेता हरिशरण आचार्यले संघ सरकारले कुर्ची रक्षाका लागि हेल्मेट बजेट ल्याएको बताए । कुर्चीदेखि कुर्ची र सत्ताबाट सत्तामै जानका लागि बजेट ल्याइएको र चुनावका लागि वितरणमुखी देखिएको बताए । ‘संसद अहिले मुर्छित छ, काम चलाउ सरकारले पूर्ण बजेट ल्याउने अधिकार कसरी पायो, यो सत्ता जोगाउने हेल्मेट हो,’ उनले भने । 

आइतबारको बैठकमा मुख्यमन्त्री गुरुङ अस्वस्थ भएपछि उनको सट्टा सरकारका प्रवक्ता रामशरण बस्नेतले बोलेका थिए । प्रदेशमा असार १ गते बजेट ल्याउनै पर्ने बाध्यता भएकाले बजेटको प्रक्रियाअघि बढाइएको बताए । सदनमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र पोखरेलले अहिलेको सरकार अल्पमतका भएकाले बजेटको प्रक्रिया थाल्न नसक्ने बताएका थिए ।

‘हामीले सहमतिमै बनाएको नियमावलीले असार १ सम्म बजेट ल्याउनै पर्छ भनेको होइन, अहिले प्रक्रिया नथाले बजेट ल्याउन असम्भव छ, विश्वास नपाए अर्को परिस्थिति बन्छ,’ उनले भने । मुख्यमन्त्री गुरुङले विश्वासको मत नलिई अघि बढ्छन् कि भन्ने शंका गर्नु नपर्ने बस्नेतको भनाइ थियो । ‘मुख्यमन्त्री ज्यूले २७ जेठसम्मा विश्वासको मत लिनुहुन्छ कोहीले अन्योलता पाल्न जरुरी छैन,’ उनले भने । 

संघ सरकारले स्वास्थ्यलाई ध्यानमा राखेर ल्याएको बजेटको पनि विनाकारण आलोचना गरिएको उनले बताए । कोभिड महामारी रोक्न भ्याक्सिनमा मात्रै २६ अर्ब बजेट ल्याइएको भन्दै संघ सरकारले स्वास्थ्यमा लिएको भिजनलाई सम्मान गर्नुपर्ने उनको तर्क थियो । ‘मन परेन भन्दैमा जे पनि छिछि गरेर हुँदैन, संघ सरकारको भिजनलाई सल्युट गर्नुपर्छ,’ उनले भने । 

गण्डकी प्रदेश सभालाई विघटनको बाटोमा जान नदिन अब सबै दल एकठाउँ हुनुपर्ने बेला आएको उनले बताए । अहिले विपक्षी मोर्चाले बोकेकोे भारीले ठिक परिणाम दिने नदेखिएकाले अब मोर्चाबन्दी छाडेर सबै दल एकैठाउँ उभिनुपर्ने उनले सुनाए । ‘हामी सबै निषेधको राजनीतिबाट आयौं, अब सहकार्यको राजनीतिको बेला हो, एकैठाउँ उभिनुपर्छ,’ उनले भने । 

बजेटका सिद्धान्त प्राथमिकता पेश गरिने

प्रदेश सभाको सोमबारको बैठकमा बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गर्ने कार्यसूची छ । एमाले संसदीय दलका प्रमुख सचेतक मायानाथ अधिकारीका अनुसार सोमबार अर्थमन्त्री किरण गुरुङले बजेटका सिद्धान्त तथा प्राथमिकता टेबुल गर्नेछन् । सोमबारबाट नै त्यस उपर छलफल थालिने छ । 


Author

अनिष भट्टराई

भट्टराई इकागजका संवाददाता हुन् ।


थप समाचार
x