राजनीति

पोखराबाट गुटेरेसको सन्देश : जलवायु परिवर्तनको असर कम गर्न प्रभावकारी ऐक्यबद्धता आवश्यक

इकागज |
कात्तिक १४, २०८० मंगलबार ११:१२ बजे

पोखरा। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनको असर कम गर्न जलवायु परिवर्तनको असरलाई कम गर्न प्रभावकारी ऐक्यबद्धता आवश्यक रहेको बताएका छन् ।

नेपालको औपचारिक भ्रमणमा रहेका महासचिव गुटेरेसले मंगलबार अन्नपूर्ण बेसक्याम्पबाट फर्केपछि पोखरामा पत्रकारहरूलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका असर कम गर्न हिमाल र हिमनदी जोगाउनुपर्ने बताए । उनले भने ‘मैले भ्रमण गरेका र देखेका ठाउँहरूमा मान्छेहरू जलवायु परिवर्तनको कारणले धेरै पीडामा छन् । वास्तवमै हिमाली क्षेत्रको अवस्था जटिल छ ।’


उनले नेपाल हिम श्रृखंलाको धनी देश भएकाले यहाँको हिमाल र हिमनदी जोगाउनुपर्नेमा जोड दिए । उनले भने, ‘हामीले यी अद्भुत हिमालहरू र यी अद्भुत हिमनदीहरू जोगाउनुपर्छ । जलवायु परिवर्तनका कारण पीडित बनेका नेपाल र नेपालजस्ता अन्य देशहरूलाई समर्थन गर्न आवश्यक छ ।’

जलवायु परिवर्तनकै कारण धेरै ठाउँमा भूस्खलन भएको भन्दै उनले यसबाट पीडित समुदायका लागि विश्वस्तरबाटै प्रभावकारी कदम चाल्नुपर्ने बताए । जलवायु परिवर्तनका कारण पीडित समुदायको रक्षा गर्न र जलवायु अनुकूलनको लागि धेरै कोषहरू रहेकाले यसमा आफूले अपिल गर्ने उनले बताए ।

सोमबार पोखरा आएका महासचिव गुटरेस फेवातालमा डुङ्गा सयरसँगै पुम्दीकोटस्थित विशाल शिव मन्दिरको अवलोकन गरी मंगलबार बिहान अन्नपूर्ण बेसक्याम्प पुगेका थिए ।


Author

थप समाचार
x