राजनीति

जसपाको ठाकुर समूह ओली नेतृत्वको सरकारमा सहभागी हुने

नेता कर्ण भन्छन् : वार्तामा प्रधानमन्त्रीले सरकारमा आउनुस् भन्‍नुभयो, हामीले हुन्छ भन्यौं

इकागज |
जेठ १७, २०७८ सोमबार १५:१० बजे

काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर समूह केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने भएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा सरकारमा सहभागी हुने विषय टुंगिएको हो ।

वार्तामा सहभागी जसपा नेता लक्ष्मणलाल कर्णले सरकारमा जाने सहमति भएको बताए । ‘केपी शर्मा ओली नेतृत्वको सरकारले हाम्रा काम गरिदिएको छ । सुरुदेखि नै सरकारमा आउनुस् भन्‍नुभएको थियो, आजको छलफलमा हुन्छ भनेका छौँ,’ कर्णले इकागजसँग भने ।


अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्णसहितका नेताहरू प्रधानमन्त्री ओलीलाई भेट्न बिहान १० बजे बालुवाटार पुगेका थिए । कर्णका अनुसार दुई बजेसम्म चलेको बैठकमा सरकारमा सहभागिता र मुद्दा टुंग्याउने विषयमा छलफल भएको थियो । 

मुद्दा फिर्ता र सरकारमा सहभागिताका विषयमा वार्तामा छलफल भएको कर्णले बताए । आठ मन्त्री र दुई राज्यमन्त्री बनाउने ओली र जसपाको ठाकुर समूहबीच सहमति भएको छ । तर, पार्टीभित्र विवाद भएकाले कहिले शपथ गर्ने भन्‍ने नटुंगिएको कर्णले बताए । ‘प्रधानमन्त्रीले भोलि नै शपथ गर्ने भन्‍नुभएको थियो । हामीले पार्टीमा पनि विवाद छ, पर्सीसम्म छलफल गरेर टुंग्याउँछौं, अनि शपथ गरौँला भनेका छौँ,’ कर्णले भने । 

विवादका कारण नेताहरू क-कसलाई सरकारमा पठाउने भन्‍ने विषय नटुंगिएको एक नेताले बताए । सरकारमा पार्टीको नेतृत्व महतोले गरेर जाने कि, शरतसिंह भण्डारीले गरेर जाने भन्‍नेमा पनि विवाद छ । 

सरकारमा सहभागिताका विषयमा जसपामा विवाद कायमै छ । संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूह ओली नेतृत्वको सरकारलाई हटाउने हस्ताक्षर अभियानमा लागेको छ भने अध्यक्ष ठाकुर समूह भने ओलीसँग मिलेर आफ्ना मुद्दा सल्टाउने र सरकारमा सहभागी हुने दाउमा छ ।
 
यता, एमालेको भने सरकारमा सहभागिताको विषय टुंगिएको र सकभर भोलिसम्मै शपथ हुने अपेक्षा छ । 


Author

थप समाचार
x