राजनीति

राजावादीहरूप्रति माधव नेपालको टिप्पणी : व्यवस्थामाथि आँच आउने गरी प्रश्न उठाउने अधिकार छैन

इकागज |
कात्तिक १६, २०८० बिहीबार १८:२६ बजे

फाइल फाेटाे

काठमाडाैँ– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजावादीहरूलाई देशको वर्तमान व्यवस्थामाथि आँच आउने गरी प्रश्न उठाउने अधिकार नभएको बताएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष नेपालले राजावादीहरूतर्फ लक्षित गर्दै यस्ताे बताएका हुन् ।

अध्यक्ष नेपालले नेपाललाई फेरि अँध्यारो युगमा फर्काउने कुरा नसोच्न चेतावनी दिए । उनले कुनै वंशको शासनलाई अगाडि सारेर देशको समस्या समाधान हुने कुराको कल्पना गर्नु नहुने बताए ।


अध्यक्ष नेपालले प्रधानमन्त्री र राज्य सञ्चालनको सम्बन्धमा पीडा भएको भए राजनीतिमा विकल्प दिन चुनौती समेत दिए ।

अध्यक्ष नेपालले भने, ‘समस्या देश सञ्चालन गर्ने प्रधानमन्त्रीमा हो कि राष्ट्रपतिमा हो ? के यो देशको मधेशीको छोरो देशको राष्ट्रपति भएकोमा पीडा भइरहेको छ ? के नेपाली छोरी राष्ट्रपति भएकोमा पीडा भइरहेको छ ? नेपालको राजनीतिमा जीवन समर्पित गरेका एउटा योद्धा राष्ट्रपति भएकोमा पीडा भइरहेको छ ? देशको सञ्चालन गर्ने कुरामा प्रधानमन्त्री भएको ठाउँमा रहेका व्यक्तिहरू र मन्त्रिमण्डलको टिमले राम्ररी काम गरेन भन्ने कुरामा पीडा भएको हो ?’

अध्यक्ष नेपालले अगाडि भने, 'यदि प्रधानमन्त्री र राज्य सञ्चालनमा पीडा भएको हो भने आउनुहोस् राजनीतिमा विकल्पहरू दिनुस् । राजनीतिमा विकल्प दिएर जनतामा आशा जगाउनुस् । तर यो व्यवस्थामाथि आँच आउने गरी प्रश्न उठाउने अधिकार तपाईंलाई छैन । हामीले देखिसकेका छौँ । भोगिसकेका छौँ । खुट्टि पनि देखिसकेका छौँ । फेरि त्यही अँध्यारो युगमा नेपाललाई फर्काउने कुरा नसोच्नुहोस् । कुनै वंशको शासनलाई अगाडि सारेर देशको समस्या समाधान होला भन्ने कल्पना नगरौँ ।’

अध्यक्ष नेपालले देशको स्वतन्त्रता र स्वाभिमानको रक्षा गर्न सबै गम्भीर हुनुपर्ने बताए । उनले अर्थतन्त्रले आशा जगाउन नसकेको भन्दै समस्या समाधानका लागि राजनीतिक नेतृत्वले अपेक्षित रुपमा अग्रसरता लिन नसकेको जिकिर गरे ।

अध्यक्ष नेपालले देशको अर्थतन्त्रको मूल्याङ्कन गर्न विज्ञहरूसहितको बैठक राख्नुपर्ने पनि समेत बताए । 


Author

थप समाचार
x