राजनीति

सेनाले ठेकेदारलाई जिम्मेवार बनाउनुपर्छ : रक्षामन्त्री खड्का

इकागज |
कात्तिक १७, २०८० शुक्रबार १५:३ बजे

काठमाडौँ- उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सेनाले जिम्मा लिएको आयोजनालाई निर्धारित मितिमै सम्पन्न गर्न ठेकेदारलाई जिम्मेवार बनाउनुपर्ने बताएका छन् ।

शुक्रबार रक्षा मन्त्रालयमा आयोजित प्रथम त्रैमासिक समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उनले सेनाले जिम्मा लिएको आयोजनालाई निर्धारित मितिमै सम्पन्न गर्न ठेकेदारलाई जिम्मेवार बनाउनुपर्ने बताएका हुन् । ठेकेदारले कुनै पनि बहानामा काम नगरेको अवस्थामा कडाइका साथ प्रस्तुत हुन पनि उनले निर्देशन दिए । मन्त्री खड्काले गुणस्तरमा कुनै पनि हालतमा सम्झौता गर्न नहुने जिकिर गरे ।


मुलुकका साथै नेपाली सेनाको प्रतिष्ठासँग जोडिएको काठमाडौँ तराई-मधेस द्रुत मार्ग निर्धारित मितिमा सम्पन्न गर्नुपर्नेमा जोड दिँदै उनले विसं २०८३ चैतसम्म निर्माण सम्पन्न गर्ने गरी काम गर्न निर्देशन दिए । त्यस्तै उनले समस्यालाई चाङ लगाएर राख्नेभन्दा पनि तत्कालै समाधान गरेर जानुपर्ने बताए । समस्या मात्र प्रस्तुत गर्ने नभई समस्याका कारण र समाधानको उपायसमेत प्रस्तुत गर्न उनले निर्देशन दिए ।

खड्काले मुलुकको समृद्धिमा बाधा सिर्जना गर्ने ऐन कानुन संशोधन गर्न अध्यादेश ल्याइने जिकिर समेत गरे ।

त्यस्तै राष्ट्रिय योजना आयोगका कार्यवाहक उपाध्यक्ष डा रामकुमार फुयाँलले एकद्वार प्रणालीबाट विकास आयोजनाका समस्या समाधान गर्ने गरी आयोगले गृहकार्य गरिरहेको जानकारी दिए ।


Author

थप समाचार
x