राजनीति

बागमती प्रदेश सभामा प्रि-बजेट छलफल सुरु

इकागज |
जेठ १७, २०७८ सोमबार २०:१३ बजे

हेटौंडा : बागमती प्रदेश सभामा आगामी आर्थिक वर्षका लागि विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) पेस भई छलफल सुरु भएको छ । सोमबार प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले सदनमा विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकता पेस गरे । त्यसपछि सुरु छलफलमा १४ सांसदले बजेटको सिद्धान्त र प्राथमिकताबारे धारणा राखेका छन् । 

छलफलमा भाग लिँदै पूर्वमन्त्री तथा प्रदेश सांसद युवराज दुलालले बजेटको सिद्धान्त र प्राथमिकता सरकारले बुझेर नल्याएको बताए । ‘बजेटको सिद्धान्त र प्राथमिकतामा जे हुन्छ त्यो नीति तथा कार्यक्रम र बजेटमा समावेश भएर आउनुपर्ने हो, तर विगतदेखि त्यसो हुन सकेको छैन,’ उनले भने । 


आगामी आर्थिक वर्ष ०७८÷७९ को बजेट सामान्य नागरिकलाई माथि उकास्ने खालको आउनुपर्ने दुलाले बताए । सरकारको प्राथमिकता मानव संशाधन विकास हुनुपर्नेमा चालु वर्षमा पनि त्यसो हुन नसकेको र आगामी बजेटको प्राथमिकतामा नपरेको उनको भनाइ छ । 

सांसद रमेश पौडेलले खोपसम्बन्धी सरकार नबोलेको भन्दै कपि-पेस्ट गरेर गएका वर्षहरूको सारसक्षेपमा आएको सिद्धान्त र प्राथमिकताको औचित्य नभएको बताए । उनले तत्काल जनताको आवश्यकता अनुरुपका योजना सिद्धान्त र प्राथमिकतामा कतै नभेटिएको भन्दै आक्रेश पोखे । 

सांसद विशाल खड्काले दस्तावेज जसरी देखाउन मात्र बजेट आएको भन्दै पुनःविचार गर्न आग्रह गरे । सांसद शोभा शाक्यले कोभिड फोकस भएर बजेट ल्याउन माग गरिन् । 

सांसद रत्न प्रसाद ढकालले पर्यटन, बन्द उद्योगहरूलाई संचालन गर्ने कुनै नीति नदेखिएको बताए । उनले स्वास्थ्यलाई प्राथमिकता मात्र दिएको भनिए पनि प्रथमिकता के-के मा दिइने नखुलाएको बताए । 

सांसद जगतबहादुर सिम्खडाले सरकारको सिद्धान्त नागरिकको गास, बास, कपास, शिक्षा र स्वास्थ्यमा केन्द्रित हुनुपर्ने र प्राथमिकता सबैको घरमा पिउने पानी पुग्नुपर्ने, विजुली बल्नुपर्ने बताए । तर सरकारको प्राथमकिता लकडाउन गरेर घरमा सुत्ने भएको भन्दै आक्रेश व्यक्त गरे । कमिसनको खेलमा  सरकारले पूर्वाधारबिनै विद्युतीय बस खरिद गर्न लागेको उनको बताए । 

सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै आर्थिक मामिलामन्त्री ढुंगेलले आवश्यकता अनुसार आएको सुझावलाई ग्रहण गर्दै नीति तथा कार्यक्रम र बजेटमा सम्बोधन गर्ने बताए । बागमती प्रदेश सभा अर्का सूचना नभएसम्मको लागि स्थगित भएको छ ।  


Author

थप समाचार
x