राजनीति

भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनःस्थापना युद्धस्तरमा गरियोस्ः नेपाल सुशासन पार्टी

इकागज |
कात्तिक १९, २०८० आइतबार ११:१ बजे

काठमाडौँ– नेपाल सुशासन पार्टीले भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनःस्थापना युद्धस्तरमा गर्न सरकारसँग माग गरेको छ । पार्टीले एक वक्तव्य जारी गरेर शुक्रबार राति जाजरकोटको बारेकोटलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै राहत–उद्धार र पुनःस्थापनाको कार्यमा जुट्न सरकारसँग अपील गरेको हो ।

सुशासन पार्टीले नागरिकले अकाल मृत्यु भोग्दा र पीडाले छटपटाउँदा पनि सरकार र राज्य बेखबर भएको आरोप लगाएको छ । ‘यस्तो विपत्तिको घडीमा समयमा नागरिकले सरकारको उपस्थिति नदेख्नु गम्भीर चिन्ता र आपत्तिको विषय हो । प्राकृतिक प्रकोपमा तत्काल उद्धार र राहत प्रदान गर्नुपर्ने राष्ट्रिय दायित्वलाई तदारुकताका साथ तत्काल पूरा गर्नुपर्ने हामी सबैको जिम्मेवारी रहेको छ,’ पार्टी महासचिव गोविन्द गिरीले जारी गरेको वक्तव्यमा उल्लेख छ । 


साथै, पार्टीको आकस्मिक बैठकले भूकम्प प्रभावितलाई राहत स्वरूप दुई सय थान कम्बल उपलब्ध गराउने निर्णय पनि गरेको छ । 

शुक्रबार राति जाजरकोटको बारेकोटलाई केन्द्रविन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पमा परी रुकुम र जाजरकोटमा १ सय ५७ जनाको मृत्यु भइसकेको छ भने करिव चार सय घाइते भएका छन् ।


Author

थप समाचार
x