राजनीति

मंसिर २२ को सडक संघर्ष स्थगित गर्ने माओवादीको निर्णय

इकागज |
कात्तिक २०, २०८० सोमबार १२:३ बजे

काठमाडौँ– सत्तासीन दल नेकपा माओवादी केन्द्रले आगामी मंसिर २२ गतेलाई तोकेको सडक संघर्षको कार्यक्रम स्थगित गरेको छ । माओवादी केन्द्रको आइतबार बालुवाटारमा बसेको पदाधिकारी बैठकले शुक्रबार जाजरकोटको बारेकोटलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पको कारण सडक संघर्ष स्थगित गरिएको पार्टी महासचिव देव गुरुङले जानकारी दिए । 

‘भूकम्पका कारण देशमा ठूलो क्षति हुन पुगेको छ । यस्तो बेला हामी भूकम्प प्रभावित क्षेत्रमा खटिन आवश्यक छ । त्यस कारण हामीले मंसिर २२ गते काठमाडौँमा तय गरेको बृहत् जनपरिचालनको कार्यक्रम स्थगित गरेका हौँ,’ इकागजसँग उनले भने । 


महासचिव गुरुङले उक्त कार्यक्रम वडा र पालिका स्तरमा भने स्थगित नभएको बताए । 

त्यसैगरी, चियापानलगायतका कार्यक्रम पनि तिहारसम्मका लागि स्थगित गरिएको उनले जानकारी दिए । 

सत्तारुढ दलले नै सडक संघर्षको कार्यक्रम घोषणा गरेको भन्दै माओवादी केन्द्रको व्यापक आलोचना भएको थियो । 

शुक्रबार राति जाजरकोटको बारेकोटलाई केन्द्रविन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पमा परी रुकुम र जाजरकोटमा १ सय ५७ जनाको मृत्यु भइसकेको छ भने करिब चार सय घाइते भएका छन् ।


Author

थप समाचार
x