राजनीति

नेपालमा लगानी गर्न एसिया प्रशान्त क्षेत्रका व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

इकागज |
कात्तिक २१, २०८० मंगलबार १९:३० बजे

फाइल फोटो

काठमाडौँ - प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुक आर्थिक समृद्धिको मार्गमा रहेकाले नेपालमा लगानी गर्न एसिया प्रशान्त क्षेत्रका व्यवसायीलाई आग्रह गरेका छन् । 

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा गएको एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघका अध्यक्ष पिटर म्याकमुलिन एमसहितको प्रतिनिधिमण्डलसँगको भेटमा उनले नेपालको आर्थिक समृद्धिको यात्रामा सहयोग गर्न आग्रह गरे । 


नेपालले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय लगानी आव्हान गरिरहेको, नेपालमा लगानीका लागि उपयुक्त कानुन र वातावरण रहेको तथा लगानीकर्तालाई सबै प्रकारका सहयोग गर्न सरकार तयार रहेको प्रधानमन्त्री दाहालले विश्वास दिलाए । 

सो अवसरमा महासंघका अध्यक्ष ढकालले ३७औँ ‘क्यासी’ सम्मेलन नेपालको आर्थिक विकासका मुद्दामा केन्द्रित भएको र सम्मेलन सहयोगी हुने अपेक्षा नेपाली निजी क्षेत्रले गरेको बताए ।  एसिया प्रशान्त क्षेत्रबाट लगानी एवं प्रविधि भित्र्याउन क्यासीमार्फत महासंघले पहल गर्ने थप स्पष्ट पारे । 

क्यासीका अध्यक्ष पिटरले लगानी आकर्षण एवं आर्थिक व्यावसायिक सम्बन्ध विस्तारमा सहयोग पुर्‍याउन तयार रहेको प्रतिबद्धता जनाएको महासंघले जनाएको छ । भेटवार्तामा अर्थमन्त्री डा प्रकाशशरण महत, मुख्यसचिव डा बैकुण्ठप्रसाद अर्याल र क्यासी पदाधिकारी एवं सदस्यको उपस्थिति थियो । निजी क्षेत्रको प्रतिनिधिमुलुक संस्था नेपाल उद्योग वाणिज्य महासंघ यस संस्थाको संस्थापक सदस्य रहेको छ । रासस


Author

थप समाचार
x