झोलुङ्गे पुललाई पर्यटनसँग जोड्नु आवश्यक छ : मन्त्री गुरुङ
फाइल तस्बिर
काठमाडौँ- शहरी विकासमन्त्री सीता गुरुङले झोलुङ्गे पुललाई पर्यटनसँग जोड्नुपर्ने बताएकी छिन् । शुक्रबार नेपालमा १० हजारभन्दा बढी झोलुङ्गे पुलहरू निर्माण सम्पन्न भएको उपलक्ष्यमा गरिएको तस्बिर प्रदर्शनी कार्यक्रममा बोल्दै मन्त्री गुरुङले झोलुङ्गे पुलहरूलाई पर्यटनसँग जोड्नुपर्ने बताएकी हुन् ।
उनले विगतमा झोलुङ्गे पुलहरू केवल एक गाउँबाट अर्को गाउँ जानको निम्ति र खोला वारपार गर्ने प्रयोजनको निम्ति बनाइने गरेको उल्लेख गर्दै अब शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार क्षेत्रको विकाससँग जोड्नुपर्ने बताएकी हुन् । मन्त्री गुरुङले झोलुङ्गे पुललाई खोलानालामा मात्रै केन्द्रित नगरी पर्यटनको सम्भावना भएका ठाउँहरूमा पनि निर्माण गर्नुपर्ने जिकिर गरिन् ।
एक पहाडबाट अर्को पहाड जोड्ने झोलुङ्गे पुल निर्माण गरी पर्यटन प्रवर्द्धन गर्नुपर्नेमा उनले जोड दिइन् । यसको निम्ति मन्त्रालयले नीतिगत व्यवस्था गरिसकेको पनि उनले स्पष्ट पारिन् ।
मन्त्री गुरुङले झोलुङ्गे पुललाई नागरिकको आय-आर्जनसँग जोड्नुपर्ने पनि बताइन् । उनले भुगोल अनुसार कहाँ के को व्यावसायिक खेती गर्न सकिन्छ भनेर सूचीकृत गर्न सकेमा सो क्षेत्रको आर्थिक समृद्धिमा सघाउ पुग्ने पनि उल्लेख गरिन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया