राजनीति

जसपा कारबाही प्रकरण

हृदयेश समूहसँग महन्थ समूहको एकीकरण हुँदै

नयाँ पार्टी निर्वाचन आयोगमा दर्ता गर्ने तयारी

मधुसुधन भट्टराई | पुष्पराज आचार्य |
जेठ १८, २०७८ मंगलबार १६:१५ बजे

काठमाडौँ : जनता समाजवादी पार्टी(जसपा)को महन्थ ठाकुर समूह र स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीको स्वतन्त्र राजनीतिक समूहबीच एकीकरण हुने भएको छ । दुवै समूह मिलेर नयाँ दल दर्ता गर्न छलफल भइरहेको छ ।
 
२०६२/६३ को जनआन्दोलन लगत्तै भएको मधेश आन्दोलनपछि २०६४ पुसमा तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) नामक नयाँ राजनीतिक दल बनाउँदा ठाकुर र त्रिपाठी एकै ठाउँमा थिए । पछि तराई केन्द्रित ६ दल मिलेर राष्ट्रिय जनता पार्टी (राजपा) बनेपछि अध्यक्ष मण्डलमा नराखिएकोमा असन्तुष्टि जनाएर बाहिरिएका त्रिपाठीको समूहसँग फेरि ठाकुरले एकीकरण गर्न थालेका हुन् ।

 ६ दल तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई मधेस सद्भावना पार्टी, फोरम गणतान्त्रिक र नेपाल सद्भावना पार्टीबीच एकीकरण गर्दा मुख्य भूमिका त्रिपाठीले निर्वाह गरेका थिए । 


२०७७ साल बैशाख ११ गते राजपा र समाजवादी पार्टीबीच एकीकरण भएर जनता समाजवादी पार्टी बनेको थियो । अहिले प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको समूहमा लाग्ने कि ओलीविरोधी नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) नेतृत्वको पाँच दलीय समूहमा लाग्ने भन्नेमा विवाद छ । त्यही विवादका कारण जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई समूहले अध्यक्ष ठाकुरसहित नेताहरू राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई साधारणसदस्यसमेत नरहनेगरी पार्टीबाट कारबाही गरेको छ । 

कार्यकारिणी समितिमा बहुमत रहेको समूहले कारबाही गरेपछि ठाकुरले पुराना मित्र त्रिपाठीको समूहसँग एक भएर नयाँ पार्टी बनाउनका लागि छलफल सुरु गरेका हुन् । 

स्रोतका अनुसार ठाकुरसहित जसपाबाट निष्काशित नेताहरू र स्वास्थ्यमन्त्री त्रिपाठी समूहबीच नयाँ दल दर्ता गर्ने सम्बन्धमा सिंहदरबारमा कुराकानी भइरहेको छ । कुराकानीमा ठाकुर समूहबाट ठाकुर, राजेन्द्र महताेसहितका नेताहरू र त्रिपाठी समूहबाट त्रिपाठीसहितका नेताहरू सहभागी रहेको स्राेतले बतायो । 

तत्कालिन राजपा छोडेपछि स्वतन्त्र राजनीतिक समूह बनाएका त्रिपाठीले २०७४ मा सम्पन्‍न संसदीय निर्वाचनमा सूर्य चिन्ह लिएर होमिएका थिए । त्यसबेला तत्कालिन एमालेले त्रिपाठी समूहका ५ नेतालाई सूर्य चिन्ह लिएर निर्वाचन लड्न दिएको थियो । ति मध्ये त्रिपाठी र व्रिजेश गुप्तले निर्वाचन जितेका थिए । 
  
निर्वाचित भएर आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनाएका थिए । पछिल्लोपटक मन्त्री मन्त्रिपरिषद् विस्तार गर्दा त्रिपाठीलाई स्वास्थ्यमन्त्रीमा सरुवा गरिएको थियो । 

२०४८ सालदेखि संसदीय राजनीतिका माहिर खेलाडी त्रिपाठी पनि स्वतन्त्र सांसदको हैसियतमा बस्दा आफ्नो भूमिका खुम्चिएको अनुभूति गरिरहेका र ठाकुर पनि कारबाहीमा परेपछि नयाँ पार्टी बनाउनु पर्ने अवस्थामा रहेकाले दुई बीच एकीकरण गर्ने तयारीमा उनीहरू लागेका हुन् । त्रिपाठीको समूहका एक सदस्यले इकागजसँग भने, ‘हो छलफल चलिरहेको छ । एकीकरण गरेर नयाँ दल बनाउने सहमति नजिक हामी पुगिसकेका छौं ।’

अहिले मधेशी पार्टीहरूबीच एकता गराएर जनता समाजवादी पार्टीलाई काउन्टर दिन प्रधानमन्त्री केपी शर्मा ओलीको सदिच्छा रहेको बताइएको छ । जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले पनि मुलुक तीव्र राजनीतिक ध्रुवीकरणतर्फ अघि बढेको बताएका छन् ।

तराई मधेशको राजनीतिमा माहिर खेलाडी मानिने ठाकुर, त्रिपाठी, महतोबीचको छलफलले उनीहरू मिलेर नयाँ दल पुनर्गठनमा जानेतर्फ सकारात्मक संकेत गरेको छलफलमा सहभागी एक नेताले बताए । 

त्रिपाठी समूहका नेता व्रिजेश गुप्तले जसपा अध्यक्ष ठाकुर र त्रिपाठीबीच दिउँसो सिंहदबारमा भेट भएर छलफल भएको स्वीकारे । 'हामी छलफलमै छौँ । टुंगोमा पुगिसकेका छैनौँ,' गुप्तले इकागजसँग भने ।


Author

मधुसुधन भट्टराई

राजनीतिक मामिलामा कलम चलाउँदै आएका भट्टराई विशेष संवाददाता हुन् ।

पुष्पराज आचार्य

अर्थराजनीति विषयमा कलम चलाउने आचार्य समाचार प्रमुख हुन् ।


थप समाचार
x