राजनीति

गण्डकी प्रदेश : प्रि-बजेट छलफलमा विपक्षीले दिएनन् सुझाव

सत्तारुढ सांसदको प्रश्नः कार्यव्यवस्थामै सहमति भएको होइन ?

अनिष भट्टराई |
जेठ १८, २०७८ मंगलबार १९:३७ बजे

पोखरा : गण्डकी प्रदेश सभामा मंगलबारबाट सुरु भएको प्रि-बजेट छलफलमा विपक्षी सांसदले सुझाव दिन अस्विकार गरेका छन् । अघिल्ला आर्थिक वर्षमा आफूहरूको सुझावलाई आत्मसात नगरिएको र अल्पमतको सरकारले बजेटको प्रक्रिया थालिएको भन्दै सुझाव दिन अस्विकार गरेका हुन् । 

अर्थमन्त्री किरण गुरुङले सोमबार सदनमा आर्थिक वर्ष २०७८/७९ को विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरेका थिए । त्यस उपर मंगलबारबाट छलफल थालिएको थियो । तर विपक्षी सांसदहरूले सदनमा राजनीतिक विषयलाई उठान गर्दै सुझाव दिन नसकिने बताए । मंगलबारको बैठकमा सत्ता र प्रतिपक्षका १६ सांसदले प्रि-बजेट छलफलमा बोलेका थिए । 


कांग्रेस सांसद प्रकाशचनद्र दवाडीले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारले बजेट प्रक्रिया थाल्नु असामान्य भएको बताए । अल्पमतमा भएको सरकारले सदन चलाएकोमा आफूसँग कुनै वाक्य नभएको उनको प्रतिक्रिया थियो । ‘आज मसँग कुनै वाक्यांश नै छैन, आफू पक्का नभई किन बजेटको प्रक्रिया थालेको ? विश्वासको मत नलिई सदन चलाउनुको औचित्य छैन,’ दवाडीले भने । 

माओवादी सांसद रामजीप्रसाद बराल गुरुङ सरकार जनताको आँखामा छारो हाल्न लागेको बताए । अहिलेको सरकारले बजेट ल्याउने सम्भावना नदेखेकाले आफूले सुझाव नदिने उनले जनाए । ‘असंवैधानिक सरकारलाई सुझाव दिएर केही नहुने देखेकाले म सुझाव दिन्‍नँ, संघ सरकारको गैरजिम्मेवारी पनको लाचार छायाँ बनेको छ प्रदेश,’ उनको आरोप थियो । 

बरालले संघ सरकारले आगामी वर्षका लागि ल्याएको बजेटको पनि आलोचना गरे । आवश्यकतालाई नहेरी देशलाई ऋणमा डुबाउने गरी बजेट ल्याइएको उनले बताए । ‘विद्यार्थीले कम्युप्टर होइन, रोजगारमूलक शिक्षा मागेका छन्, छोरा नातिको टाउकोमा ऋणको भार बढाएर वृद्धवृद्धाले भत्ता बढाउन भनेका छैनन्,’ उनले भने । 

कांग्रेस सांसद विन्दुकुमार थापाले अर्थमन्त्री किरण गुरुङमाथि कटाक्ष गरे । गुरुङ सम्मिलित सरकार अहिले अल्पमतमा परेपछि गुरुङमा चिन्ता बढि देखिएकाले बजेटका सिद्धान्त प्राथमिकतामा उत्साह नदेखिएको थापाले बताए । ‘अघिल्लो वर्षको जोस जाँगर देख्दिनँ, धेरै मन्त्रालयको बोझ सम्हालेर हो कि अघिल्लो वर्षको योजना पूरा गर्न सकिनँ भनेर पिर परेर होला,’ थापाले भने । सरकारले वैधानिकता गुमाएकाले विश्वासको मत लिन उनको चुनौती थियो । 

माओवादी सांसद आशा कोइरालाले प्रदेश सभा धेरै विवादित बन्‍न नहुने भन्दै विधि पद्धतिमा चलाउन सरकारलाई आग्रह गरिन् । स्वास्थ्य र शिक्षा क्षेत्र अब राज्यले आफ्नो मातहत ल्याउनुपर्ने र विपतमा जनता बचाउनुपर्ने उनले सुनाइन् । ‘विश्वासको मत लिएर विवादरहित बनाएर सरकार बनाउन लाग्नुपर्छ, विपत्ले‍ सिकाएको पाठ अगिंकार गर्दै निजीकरण गरिएको सबै विद्यालय, अस्पताललाई सरकारीकरण गरौं,’ उनले भनिन् ।

कांग्रेस सांसद ललितकला गुरुङले सरकार अहिले सेटिङमा लागेको र छिटो सेटिङ सकाएर विश्वासको मत लिन आउनुपर्ने बताइन् । ‘सेटिङ, मिटिङ, इटिङ सबै सकेर नियमसंगत ढंगले विश्वासको मत लिन आउनुस्, अल्पमतको सरकारले बजेटमा हामीसँग सुझाव मागेर हुँदैन,’ गुरुङले बताइन् । कांग्रेसकी अर्की सांसद सरिता गुरुङले पहिलाका वर्षमा सरकारले आफ्ना सुझाव नमानेको तीतो अनुभव भएकाले सुझाव नदिने बताइन् । 

कांग्रेस सांसद मेखलाल श्रेष्ठले अहिलेको सरकार काम चलाउ भएकाले जनताको समस्या समाधानमा मात्र लाग्न सक्ने र ठूला काम गर्न नसक्ने बताए । ‘यो सरकार विश्वासको मत लिन किन डराइरहेको छ ? नीति कार्यक्रम ल्याउन किन हतारियो ?’ उनले भने, ‘अर्थमन्त्रीले सधैं म नै हुन्छु भनेझैं ल्याएको देखिन्छ, काम चलाउ सरकारले जनताको समस्या समाधान गर्ने मात्र हो ।’

यता सत्तारुढ सांसदहरू असार १ गते बजेट ल्याउनैपर्ने बाध्यता रहेकाले अहिले समय खेर फालेर बस्न नसकिने बताउँछन् । वर्तमान सरकारले बजेटका सिद्धान्त प्रस्तुत गर्ने, छलफल गर्ने सहमति कार्यव्यवस्था परामर्शमै भएपनि विपक्षी सांसदले सहमति तोडेको उनीहरू बताउँछन् । 

एमाले संसदीय दलका प्रमुख सचेतक मायानाथ अधिकारीले मुख्यमन्त्री गुरुङविरुद्ध उत्तेजनामा विरोध भइरहेको बताए । संघीयता कार्यान्वयन र स्थापनाका लागि लडेका गुरुङविरुद्ध उत्तेजनाको राजनीति भएको अधिकारीले सुनाए । 

एमाले सांसद कृष्णबहादुर थापाले अहिले मानवता हेरेर सत्ताको लडाईं छाड्नुपर्ने बताए । नागरिक रहेमात्र सत्ता चलाउन सकिने भन्दै अहिले सरकारलाई काम गर्न दिन उनको आग्रह थियो । ‘सबै ठीक भएपछि लडौंला अहिले नागरिक बचाऔं, सांसदहरू यति अमानवीय हुनुहुन्छ जस्तो लाग्दैन,’ उनले भने । विपक्षी सांसदले कार्यव्यवस्था परामर्श समितिको सहमति तोडेको उनको आरोप थियो । ‘सहमतिकै आधारमा संवैधानिक रुपले प्रक्रिया थालेपछि किन सहमति तोड्नुहुन्छ ?’ उनको प्रश्न थियो । 

एमालेकै अर्का सांसद धनञ्जय दवाडीले विपक्षीहरूमा मनोरोग व्याप्त भएको बताए । विगतमा आफूहरूले नै लिएको लक्ष्य पूरा गर्न हिँडेको सरकारको बाटो रोक्न मनोरोगले काम गरेको उनले बताए । ‘केही विरोध गर्न नपाएपछि हिजो समाएको खाँबो चिथोर्ने ? यसलै नैतिकताको खडेरी छ भन्‍ने बुझिन्छ,’ उनले भने । नेपाली राजनीतिमा ध्रुवीकरण देख्नुपनि विपक्षीको मनोरोगकै उपज भएको दवाडीले जनाए । ‘आफ्नै छायाँलाई बाघ देखेर तर्सेर नभाग्नुस्,’ विपक्षीलाई दवाडीले कटाक्ष गरे । 


Author

अनिष भट्टराई

भट्टराई इकागजका संवाददाता हुन् ।


थप समाचार
x