राजनीति

विवेक ‘सिल’ गरिएका कार्यकर्तामाझ साँच्चिकै विवेकशील नेता

जसले लो प्रोफाइलमा बसेर सृजनात्मक राजनीति सुरु गरे

विष्णु विश्‍वकर्मा |
जेठ १९, २०७८ ७:३८ बजे

काठमाडौँ : ‘नेपाल खुला छ’ । उज्वल थापालाई सबै नेपालीमाझ चिनाउने पहिलो अभियान हो, बन्दविरुद्धको अवज्ञा अर्थात् ‘नेपाल खुला छ’ । जतिबेला नेपालमा तत्कालीन नेकपा माओवादीको बन्दुकी जगजगी थियो । बन्द भने पछि बन्द । त्यतिबेला बन्द सफल पार्न एमाले, कांग्रेस र माओवादीका युवा नेता-कार्यकर्ता ट्याक्सी जलाउँथे ।

बन्दमा हिँडेका गाडी तोडफोड गर्थे । अनि उग्र क्रान्तिकारी माओवादी मोहन वैद्य र नेत्रविक्रम चन्दका कार्यकर्ता भने हिँड्दै गरेका यात्रुवाहक बस र मालवाहक ट्रकमा पेट्रोल बम हान्थे । जनता आक्रान्त पार्थे । एउटा बन्दमा दुई चार जनाकै ज्यान लिन्थे ।

ज्यानै लिने भएपछि बोल्ने आँट कसले गर्नु ? जनता कसैले बाेलेनन् । तर अमेरिकाबाट फर्केका आफूलाई 'पागल' भन्‍ने उज्वल थापाले बोले । नेपाल बन्दका दिन उनी 'नेपाल खुला छ' भन्दै बोले । साथीहरू जम्मा पारेर बन्दका दिन बाइक चलाए । अलपत्र परेकालाई नजिकको गन्तव्यसम्म पुर्‍याए । अनि बन्दको अवज्ञा गरे ।

उनलाई साथ दिने युवा माइतीघरमा आएर ‘नेपाल खुला छ’ भन्‍ने पोस्टर र प्लाकार्डसहित प्रदर्शन गर्न थाले । एउटा पार्टीको बन्द हुन्‍थ्‍याे । उज्वल र उनको विवेकशील नेपाली समूह 'नेपाल खुला छ' भनेर प्रदर्शन गथ्र्यो । यो २०६७ सालको कुरा हो । 

उनको अभियानमा युवाहरू जुट्दै गए । अगाडि बढ्दै गए । नाम थियो, विवेकशील नेपाली । जसले सुरुमा सामान्य रूपमा प्रदर्शन गर्थे । एक अर्कालाई साथ सहयोग दिन्थे । तर यो समूह नेपालमा वैकल्पिक राजनीति सुरु गर्ने कोसेढुंगा बन्यो । जसको नेतृत्व उज्वल थापाले गरेका थिए । 

त्यतिबेलाको बन्द खुलाउने अभियानबारे उनले आफ्नो ब्‍लगमा लेखेका छन्, ‘यो नेपाल बन्द प्रथाले आफ्नै देशमा निर्धक्कसँग हिँड्न पाउने मेरो जन्मजात अधिकार खोस्न खोजेको भान परेको छ । त्यसैले अत्ति भो भनेर हामी साथीहरू मिलेर एउटा बन्द विरुद्धको समूह सुरु गर्‍यौ । २०१० को अन्तिम तिर । यसको मुख्य उद्देश्य नै बन्दको विरुद्ध साधारण नेपालीहरूलाई निडर बनाउने हो र नेपाल ‘खुला’ छ भन्‍ने आभास दिलाउने हो । त्यसैले अहिले त कसैले बन्द गर्यो भने हामी आफ्नो सवारी साधन लिएर वा भेला भएर बन्दविरुद्ध र्याली निकाली बन्दको अवज्ञा गर्छौं र पसल पसललाई खुलाउने प्रयास गर्छौं । अहिले हामीले आफूलाई ‘नेपाल खुला’ अभियानकर्ता भन्‍न थाल्या छौँ । कसैले भोलि बन्द हो भनेर सोध्यो भने ‘होइन, भोलि नेपाल खुला हो भन्छौँ । यो हल्लै हल्लाको देशलाई सुधार्न एउटा सानो प्रयास हो । त्यही सानो प्रयासले मलाई अरु सामाजिक अभियानकर्ताहरूमाझ चिनायो ।’

विज्ञान पढ्न अमेरिका गए, डिजाइनर बनेर फर्किए 
उज्वल थापा २०३३ सालमा स्याङ्जामा जन्मेका हुन् । उनको बाल्यकाल स्याङ्जामै बित्यो । कक्षा चारदेखि उनले काठमाडौँको बुढानिलकण्ठ स्कुलमा पढे । पढाइमा अब्बल उनी एकलकाँटे थिए । तर तीक्ष्ण स्वभावका । जसले गर्दा उनले ए लेभल पढे । 

ए लेभल पढेपछि उनी के गर्ने भन्‍ने सोचमा थिए । ठीक त्यही बेला एक रोचक घटना घट्यो । ए लेभलकै जाँच दिने क्रममा उनले स्केच अर्थात् चित्र बनाएर प्रश्नको उत्तर लेखे । उनी यसलाई उत्तर लेख्‍न अल्छी लागेको र सही उत्तर लेख्‍ने नयाँ तरिका भएको बताउँथे ।

तर उनका साथीहरू हाँसे । उनी पास नहुने अड्कलबाजी थियो । तर विद्यार्थीको क्षमता बुझ्ने बुढानिलकण्ठले उनको उत्तर दिने नयाँ तरिकालाई ‘एक्सप्लोर’ गरिदियो । जसकारण उज्वल थापाले अमेरिकाको क्याम्ब्रिज विश्वविद्यालयमा पढ्ने छात्रवृत्ति पाए । 

अमेरिका जाने बेला उनले खगोल तथा भौतिक विज्ञान पढ्न जाने भनेर बताएका थिए । तर नेपालमा छँदा नै नयाँ नयाँ डिजाइन बनाउन माहिर उनी अमेरिकाबाट सूचना प्रविधिका ‘डिजाइनर’ बनेर फर्किए ।

भनिन्छ, विज्ञान पढ्ने मानिस ‘पागल’ बराबर हुन्छ । अर्थात् जो कोहीले विज्ञान विषय पढ्न सक्दैन । पढे पनि त्यसलाई लक्ष्यमा ढाल्न सजिलै सक्दैन । जो लक्ष्यमा पुग्छ, ऊ अरुजस्तो मामुली मान्छे मात्रै बन्दैन । विज्ञान पढ्ने हर कोही फरक क्षमता र सोचको अवश्य हुन्छ । उज्वल थापा पनि यसरी फरक व्यक्ति बन्‍नुमा धेरथोर विज्ञान विषयको पनि योगदान छ । जसले उनलाई सानैदेखि सिर्जनशील बनायो । एक्लै भए पनि नयाँ बाटो हिँड्ने जोखिम माेल्ने साहस दियाे ।

अमेरिकामा हुँदा उनले के सोचेनन् ? के चाहेनन् ? कति दिन सडकमा सुतेनन् ? सबथोक सहेर वाक्कदिक्क भएपछि उनी नेपाल फर्केका हुन् । उसो त सूचना प्रविधि विषय भनेकै नयाँ नयाँ ठाउँमा नयाँ नयाँ सिर्जना दिएर त्यसलाई बेच्‍ने हो । उज्वल थापाले पनि त्यही गरे । जसका लागि उनले आफ्नै देश छाने । मातृभूमि फर्कीए ।

उनी सन् २००० तिर नेपाल फर्केका हुन् । यसबीचमा उनले थुप्रै अभियान चलाए । सूचना प्रविधि क्षेत्रका युवाहरूको जमात बनाए । उनीहरूलाई उद्यमी बन्‍न सिकाए, सघाए । उनीहरूका दुःख, सुख सुने । त्यसलाई मिलेर हल गर्ने समूह बनाए । तर यी सबै कुरा चर्चामा आएनन् । उनलाई कसैले चिनेनन् । 

जब उनले नेपाल खुला छ भन्दै अभियान चलाए । सडकमा आए । बन्दको विरोध गरे । फरक अभियानको सुरुवात गरेर निरन्तरता दिए । त्यसपछि उनी चर्चामा आए । २०६४ सालको पहिलो संविधानसभा चुनावमा उनले सांकेतिक विरोध प्रदर्शन गरे । यसबाट उनले थोरै भए पनि काठमाडौँमा आफ्नो पहिचान बनाए । संविधान बनाउन दबाब दिने अभियानबाट उनी थप चर्चामा आए ।

त्यतिबेला उनले ‘ज्याला पायौ, अब संविधान देऊ’ भनेर अभियान नै चलाएका थिए । सडकमा प्लेकार्ड बोकेर प्रदर्शन गर्ने उनको अंहिसात्मक राजनीतिक अभियानले युवाहरूको मन छोयो । धेरैको मन जित्यो । अभियानमा जोडिन सहयोग पुर्‍यायो । 

उनका सिद्धान्त फरक फरक थिए । तर सबै सकारात्मक । उनी अमेरिकाबाट आजित भएर फर्किए । तर सूचना प्रविधिका बारेमा नयाँ नयाँ ज्ञान र सम्भावना बोकेर फर्किए । जुन उनले युवाहरूमाझ बाँडे । विदेश गएर किन अर्काको देश बनाउने ? अब जे गर्नुपर्छ, आफ्नै देशमा गर्नुपर्छ । आफ्नै देशका नेताविरुद्ध लड्नुपर्छ । प्रवृत्ति सुधार गर्नुपर्छ । फोहोर देखेर डराउने होइन, त्यसलाई सफा गर्नुपर्छ भन्‍ने भावना उनी राख्थे । जसका लागि उनले साहस पनि गरे ।

‘उहाँ नेपाल फर्केपछि एकदमै नयाँ सोचले काम गर्नुहुन्थ्यो । युवाहरूले विचारले होइन, सोच र नयाँ योजनाले प्रभावित पार्नुहुन्थ्यो’, थापासँग सानैदेखि संगत गरेका विवेकशील नेपाली समूहका प्रवक्ता विजयबाबु सिवाकोटीले इकागजसँग भने, ‘त्यही फरक सोच र योजनाले गर्दा त्यतिबेलादेखि युवाहरू प्रभावित भएर अभियानमा जोडिएका हुन् । जुन संख्या आज लाखौँमा छ ।’

वैकल्पिक राजनीतिको सिर्जनात्मक सुरुवात

नेपालमा सबैजसो राजनीतिक पार्टीको उदय आन्दोलन, क्रान्ति, प्रतिक्रान्तिकाका रूपमा भएको छ । राजनीति भनेकै गुण्डागर्दी र भ्रष्ट नेताले गर्ने फोहोरी पेसा हो भन्‍ने प्रवृत्ति थियाे । जनताका नाममा जनतालाई नै दुःख दिने र चुनाव जितेपछि आफू आफ्नै दुनो सोझ्याउने राजनीतिबाट मानिस आजित थिए । तर विकल्प पाएका थिएनन् ।

विवेक ‘सिल’ गरिएका पीडक नेता-लम्पट कार्यकर्ताबीच साँच्चिकै विवेकशील एक प्रेरक नेता जो उपदेशक होइन, उदाहरण थिए ।

कांग्रेस, माओवादी र एमालेको त्यो सिन्डिकेट विवेकशील नेपालीले तोड्यो । सुरुमा याे समूहलाई धेरैले खिसिट्युरी गर्थे । जसले सडकमा शान्तिपूर्ण प्रदर्शन गर्यो । कुनै हिंसा गरेन । सडकमा हिँड्नेलाई मात्रै प्लाकार्ड देखाएर आफ्नो अधिकार र कर्तव्य पूरा गर्‍यो ।

अरु कसैलाई समस्या पारेन । सधैँ जनजीविकाका मुद्दामा लगातार प्रदर्शन गर्ने एक मात्रै अभियान विवेकशील साझाको थियो । जसले गर्दा नयाँ नयाँ युवा अगाडि आए । नेतृत्व गरे । उनीहरूलाई मात्रै पछाडि बसेर थापाले मार्गनिर्देशन दिए । सधैँ अगाडि बढ्न प्रेरित गरे । 

जसको मार्गनिर्देशनबाट आज रन्जु दर्शना, मिलन पाण्डे, पुकार बमजस्ता आशालाग्दा युवा नेतृत्वमा आए । २०७३ सालमा भएको स्थानीय तहको चुनावमा विवेकशील नेपालीबाट काठमाडौँ महानगरपालिकाको मेयरमा लडेकी दर्शनाले २३ हजार बढी भोट ल्याएकी थिइन् ।

जसको सारा पृष्ठभूमि र मैदान उज्वल थापाले तयार पारेका थिए । सोही चुनावमा मेयरकै पदमा उठेका तत्कालिन साझा पार्टीका किशोर थापाले पनि राम्रो भोट ल्याए । चुनाव एमालेबाट विद्यासुन्दर शाक्यले जिते पनि मन भने रञ्जु दर्शना र किशोर थापाले जिते । जसकारण नेपालमा वैकल्पिक राजनीतिप्रति मानिसहरूको विश्वास बढ्यो । मन जित्दै गयो । र, मानिसहरूलाई भरोसा लाग्‍न थाल्यो ।

‘हामी नयाँ पुस्ताका लागि उज्वल थापा एउटा व्यक्ति मात्रै होइन’ आफ्नो राजनीतिक पृष्ठभूमि तयार पार्ने थापाबारे रन्जु दर्शना भन्छिन्, ‘उहाँ एउटा नेतृत्व, सिद्धान्त र सपना हो । जुन हामी हरहालतमा पूरा गर्छौं ।’

रन्जु दर्शना आज नेपाली युवाको रोलमोडल हुन् । उनैका कारण साझा पार्टी र विवेकशील पार्टीबीच एकताको पहल सुरु भएको थियो । उज्वल थापाले नै स्थापित गरेका मिलन पाण्डे आज विवेकशील साझा पार्टीका संयोजक छन् । दुई पार्टीबीच फेरि एकता भएको छ ।

नेपालमा दोस्रो गोविन्द केसी भनेर पुकार बम चिनिएका छन् । केही समयअघि कोरोना महामारीमा जनतालाई बचाउनका लागि सरकारलाई दबाब दिन उनले अनशन सुरु गरेका थिए । जसको पृष्ठभूमि उज्वलले तयार पारेका थिए । आज उनीहरू आम नेपालीसामु नेता छन् । हिरो साबित भएका छन् ।

तर उनीहरूका पनि हिरो थापा भने कोभिड १९ का कारण सदाका लागि बिदा भएका छन् । संक्रमित भएर कोमामा पुगेदेखि सारा नेपालीको मनमुटुमा बसेर बाँच्नका लागि प्रार्थना गरिए पनि उनी फर्किएनन् ।

‘उज्‍ज्‍वल यति छिट्टै हामीबाट बिदा होलान् भनेर कल्पना पनि गरेका थिएनौँ’ थापासँग सूचना प्रविधि र नयाँ नयाँ सर्वेक्षणमा सहकार्य गरेका शेयरकास्ट इनिसियटिभ संस्थाका प्रमुख मधु आचार्यले इकागजसँग भने, ‘नेपालमा वैकल्पिक र अहिंसात्मक राजनीतिको सुरुवात गर्ने व्यक्ति भनेर सारा नेपालीले चिने । यो गर्वको विषय हो । जसलाई हिजाेका दिनमा खिसीट्युरी गरिन्‍थ्‍याे । तर आज यति धेरै सम्मान दर्शाइयाे । राजनीतिलाई सफा गर्ने अभियानमा लागेका थापाको निधनबाट असाध्यै दुःखित छु ।’

थापा प्रायः नयाँ नयाँ आन्दोलन र त्यसलाई निरन्तरता दिनेबारे आचार्यसँग निरन्तर सल्लाह गर्थे । कसरी आम जनजिविकाका मुद्दा उठाउन सकिन्छ ? मानिसहरूलाई कसरी जागरण ल्याउने रचनात्मक काम गरेर दलहरूलाई दबाब दिन सकिन्छ र सुसंस्कृत राजनीति गर्न सकिन्छ ? भनेर उनी आचार्यको पनि सल्लाह लिएर अघि बढ्थे ।

भन्छन्, ‘उनी एक दिन होइन, दुई दिन होइन । दिनदिनै जनजीविकाका मुद्दामा विवेकशील नेपाली अभियानसँग जोडिएका युवाहरू लिएर सडकमा प्रदर्शन गर्थे । जसले वैकल्पिक राजनीतिको सुरुवात दिलायो । यो उज्वल थापाको १० वर्षको लगानी थियो । तर नेपाल र नेपालीका लागि धेरै ठूलो उपलब्धि हो । जुन कुरा उनी बिरामी भएदेखि मृत्यु हुँदासम्ममा आम नेपालीले दिएको चासो, उनको जीवनरक्षाका लागि गरेको सहयोग तथा प्रार्थनाबाट पुष्टि हुन्छ ।’ 

लोकमानलाई ढालेर नेताहरू नंग्याउने पर्दा पछाडिका पात्र 

नेपालकै पहिलो महिला प्रधानन्यायाधीश सुशीला कार्कीले आफ्नो आत्मकथा ‘न्याय’मा लेखेकी छन्, ‘तत्कालीन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीले आफ्नो मुद्दा मिलाइदिन १० करोडको प्रलोभन देखाए ।  जसका लागि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले बालुवाटारमा बाेलाएर लाेकमानकाे मुद्दा मिलाउन प्रधान न्यायाधीश कार्कीसँग आग्रह गरे ।’

अधिवक्ता ओमप्रकाश अर्यालले लोकमानविरुद्ध सर्वोच्चमा रिट हालेपछि विवेकशील नेपालीले लोकमानलाई महाअभियोग लगाउन माग गर्दै आएको थियो । जसका लागि डा.गोविन्द केसी अनशन बसे । सडकमा उज्वल थापा नेतृत्वको विवेकशील नेपाली समूहले दबाब बढाउँदै गयो । यता डा. गोविन्द केसीको अनशन । अर्कातिर सडकमा महाअभियोगको माग । सर्वोच्चमा लोकमानले गरेको एकपछि अर्को आतंकविरुद्ध रिट ।

जसलाई तत्कालीन एमाले, कांग्रेस र माओवादीले नै अख्तियारमा नियुक्त गरेका थिए । त्यतिबेला प्रधानमन्त्री तथा कांग्रेस सभापति सशील कोइराला, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले नेताहरूले एकमत भएर लोकमानबाटै ‘घुस खाएर’ अख्तियारको प्रमुखमा नियुक्त गरेकाे आराेप थियाे ।

पछि उनै लोकमानले दलका नेताहरूलाई अकुत सम्पत्ति छानबीन मुद्दा लगाएर जेल हाल्ने धम्की दिन थालेका थिए । जसबाट दलका नेताहरू थुरथुर थिए । तर थापा भने डराएनन् । युवाहरूलाई परिचालन गरेर उनले सडकमा दबाब, अनशनमा गोविन्द केसीलाई साथ दिएर लोकमानविरुद्ध महाअभियोग दर्ता गर्न माग गरे ।

अन्ततः दलहरूले संसद्मा लोकमानलाई महाअभियोग लगाएर हटाएका थिए । जसको श्रेय थापालाई जान्छ । त्यति मात्रै होइन, डा.गोविन्द केसीले चिकित्सा शिक्षा सुधारको माग राखेर पटक पटक अनशन बस्दा ती मागको सम्बोधनका लागि दबाब दिनेदेखि सयौँ युवा र नागरिक समाज सडकमा ओराल्ने कामको नेतृत्व पनि थापाले नै गरेका थिए । 

डा. केसीले पटक पटक अनशन बसेर चिकित्सा शिक्षा सुधारको माग राखे । मेडिकल कलेजको व्यापारीको स्वार्थ निस्तेज पारे । जनताको स्वास्थ्यको ग्यारेन्टी र गुणस्तरीय उपचार राज्यले गर्नुपर्ने माग उठाए । किताबी पानामै भए पनि सरकारले ती माग सम्बोधन गर्ने झुटो वाचा दिएर सम्झौता गर्यो ।

यसका पछाडि सबैभन्दा बलियो खम्बा बनेर विवेकशील नेपालीको नेतृत्व गरेर थापा उभिएका थिए । तर आज उनै अनशनकारी डा. गोविन्द केसीलाई बचाउने, सरकारलाई घुँडा टेकाउने र नागरिकप्रति राज्यलाई जिम्मेवार बनाउने नेपाली वैकल्पिक राजनीतिका मियो थापा कोभिडले गर्दा सदाका लागि बिदा भए ।

आफू लो प्रोफाइलमा बसेर जसले नयाँ पुस्तालाई अघि बढाए, दुर्गन्धित दलीय ताल देखेर नाक खुम्च्याउने होइन, हाकाहाकी प्रश्न गर्दै ताल सफा गर्न आफैँ लाग्‍नुपर्छ भन्‍ने प्रेरणा दिए । र, उदाहरण बने- राजनीति ध्वंसात्मक मात्र होइन सिर्जनात्मक पनि हुन्छ । हल्लाखल्ला गर्ने मात्र होइन चुपचाप हल गर्ने पनि हुनुपर्छ ।

‘डा.केसी फ्याट्ट अनशन सुरु गर्नुहुन्थ्यो । तर उहाँको माग सम्बोधन गराउने, उहाँलाई बचाउनेदेखि आन्दोलनको सफल अवतरण गराउने सफल नेतृत्व उज्वल थापा नै हुनुहुन्थ्यो । उहाँ र उहाँको विवेकशील नेपाली समूह नभएको भए डा. केसीका कुनै पनि माग सम्बोधन गराउन र स्वयंम डा. केसीलाई बचाउन हामी सक्दैन्थ्यौँ’ सोलिडारिटी फर डा.केसी अलायन्सका संयोजक जीवन क्षेत्रीले इकागजसँग भने, ‘डा.केसीलाई बचाउने, वैकल्पिक राजनीति र आन्दोलन सुरुवात गर्ने, लोकमानलाई हराउने, राजनीतिक दलहरूको भ्रष्टाचार उदांगो पार्ने नेपाली राजनीतिको भविष्य उज्वल थापालाई हामीले बचाउन सकेनौँ ।’

नेपालमा दलको, नेताको, कार्यकताको कुनै कमी छैन । तर उज्वल थापा गफाडी नेताबीच गम्भीर थिए । उपदेश मात्र दिने नेताबीच उदाहरण थिए । लम्पट र लोभी राजनीतिजीवीबीच उनी लगनशील थिए । विवेक ‘सिल’ गरेका नेता कार्यकर्ताबीच उनी साँच्चिकै विवेकशील थिए । राजनीतिका नाममा नागरिकलाई पीडा दिने पीडक प्रवृत्तिभन्दा फरक उनी प्रेरक थिए । अरु दलले आफ्नो महाधिवेशनमा गरेको फोहोर उनी आफू गएर सफा गर्थे । कमल थापाहरुले भृकुटीमण्डपमा गरेको फोहोर उज्वलहरुले सफा गरे ।  

राजनीतिलाई कमाइखाने भाँडो बनाउने दलाली कर्मप्रति उनमा चरम वितृष्णा र असन्तुष्टि थियो । तर, उनी राजनीतिलाई गाली गर्ने तर आफू साहस नगर्ने बरु दिनभरि फोहोरी भनेर गाली गर्ने तर भित्रभित्र फोहोरी नेताकै लुटको अंश खानेभन्दा बिलकुल फरक थिए । उनले चाहेको भए जति पनि पैसा कमाउन सक्थे । पुरानै पार्टीमा छिरेर शक्ति पनि आर्जन गर्थे होलान् । तर, उनलाई भूकम्पका नाममा पैसा उठाएर खाएको आरोप पनि लगाइयो । उनले त्यसलाई तथ्यपूर्ण तवरले खण्डन पनि गरे, तर त्यो राम्ररी फैलिन पाएन । 

वैकल्पिक धारको नाममा पसल खोल्ने तर परम्परागत दल र नेताजस्तै जता पनि आफू नै हाबी हुने, आत्मकेन्द्रित हुने, आफू पद नछोड्ने, सिर्जनात्मकभन्दा सामान्य प्रतिक्रियात्मक मात्र हुने, सामाजिक सञ्जालमा रिट्वीट र शेअरको याचना र हल्लाखल्ला गर्ने ‘वैकल्पिक’ नेताभन्दा उनी पृथक् थिए । सधैँ लो प्राफाइलमा बसेर नयाँ पुस्तालाई अघि सार्ने उनको छाती ठूलो थियो । 

उज्वल यस्ता ‘भाग्यमानी’ नेता भए कि उनी बिरामी हुँदा अकल्पनीय साथ र सहयोग जुट्यो । (जब कि परम्परागत पतित नेताहरुले सहयोगको आह्वान गरेको भए सहयोग जुट्नु त कताकता जिउँदै श्रद्धाञ्जलिका कमेन्ट पाउने सम्भावना हुन सक्थ्यो ।) र, उनी यति ‘अभागी’ नेता भए कि बाँचुन्जेल साथ, विश्वास, भरोसा र भोट पाएनन् । २०७० र २०७४ सालकाे चुनावमा उनी काठमाडाैँबाटै उम्मेद्वार बनेका थिए । तर पराजित भए ।

अहिले उनी बितेर गएपछिका श्रद्धाञ्जलिको एक प्रतिशत मात्र श्रद्धा जीवनकालमै पाएका भए उनमा पनि ऊर्जा मिल्थ्यो होला । नयाँ पुस्तालाई रचनात्मक ऊर्जा भरिदिने उज्वल नक्षत्रलाई अन्तिम बिदाइ ।



Author

थप समाचार