राजनीति

शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने कामलाई सरकारले प्राथमिकतामा राखेको छ : मन्त्री बस्नेत

इकागज |
मंसिर ५, २०८० मंगलबार १६:५८ बजे

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले शान्ति प्रक्रियाको बाँकी कामलाई निष्कर्षमा पुर्याउने कामलाई मुख्य प्राथमिकता दिएको बताएका छन् ।​ मंगलबार काठमाडौँमा आयोजित ‘विस्तृत शान्ति सम्झौताको १८ वर्षः अधुरो संक्रमणकालीन न्याय प्रक्रियाको ठोस समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरकारको पहिलो प्राथमिकता र प्रतिबद्धता शान्ति प्रक्रियाको बाँकी  कामलाई निष्कर्षमा पुर्याउनु रहेको बताएका हुन् ।

मन्त्री बस्नेतले मुलुकमा पीडित भइ राखेकाले सो प्रक्रियालाई टुंगोमा पुर्याउने काममा ढिलाइ गर्न नहुने पनि जिकिर गरे । उनले सत्यको खोजी मात्रै गरेर बस्दा शान्ति प्रक्रियाको बाँकी बाम टुंग्याउने कुरामा अब पनि धेरै समय बित्ने भएकाले सम्बन्धित सबै पक्षले यसलाई टुंग्याउने गरी बहस र छलफल केन्द्रित गर्नुपर्ने आवश्यकता समेत औंल्याए ।


मन्त्री बस्नेतले भने, ‘अहिले शान्ति प्रक्रियालाई टुंग्याउने विषय सरकारको प्राथमिकताको विषय हो । यो प्रमुख प्राथमिकतामध्येको एक हो । शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने, शान्ति प्रक्रियाका बाँकी काम जे छन्, त्यसलाई निष्कर्षमा पुर्याउने सरकारको प्राथमिकता र प्रतिबद्धता रहँदै आएको छ । यसलाई जति सक्दो छिटो टुंग्याउनुपर्छ । यसले मुलुक भिक्टिम भइराखेको छ । त्यसैले यसलाई टुंग्याउनेतिर जाऊ । ’

मन्त्री बस्नेतले मुलुकलाई द्वन्द्वको घाउबाट पूर्ण रूपमा मुक्त गराउन पनि शान्ति प्रक्रियाको बाँकी कामलाई पूर्णता दिने कामलाई तीब्रता दिनुपर्ने बताए ।


Author

थप समाचार
x