राजनीति

गणतन्त्र उल्टाउन चाहने प्रतिगामीहरूको सपना कहिल्यै पूरा हुँदैन : प्रधानमन्त्री

इकागज |
मंसिर ६, २०८० बुधबार १७:१० बजे

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्र उल्टाउन चाहने प्रतिगामीहरूको सपना कहिल्यै पूरा नहुने स्पष्ट पारेका छन् । 

शङ्खधर दिवसका अवसरमा नेपाल संवत् न्हुँद राष्ट्रिय समारोह समितिले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले पराजित भइसकेका सामन्ती तत्वहरूले अन्तिमपटक टाउको उठाउन खोजेको भन्दै उनीहरूको सपना कहिल्यै पूरा नहुने बताएका हुन् । संघीय लोकतान्त्रिक गणतन्त्र उल्टाउन दुष्प्रयास गर्नेहरूले फेरि अर्को मूल्य चुकाउनुपर्ने उनले चेतावनी दिए । उनले व्यवस्थाका विरुद्ध षडयन्त्र गरिरहे थप कठोर हुन बाध्य हुने समेत बताए । प्रधानमन्त्री प्रचण्डले नेपाल संवत् नेपालको मौलिक संवत् भएको भन्दै यसलाई राष्ट्रिय संवतको रूपमा विकसित तुल्याउनुपर्ने धारणा राखे । 


कार्यक्रममा समितिले नेपाल संवत्लाई सम्पूर्ण सरकारी दस्तावेजमा उल्लेख गर्ने ऐतिहासिक निर्णय गरेकामा प्रधानमन्त्री प्रचण्डलाई सम्मान गरेको थियो । सरकारले गत कात्तिक २७ गतेको मन्त्रिपरिषद बैठकबाट नेपाल संवत्का तिथि मितिलाई सम्पूर्ण सरकारी दस्तावेजमा अनिवार्य रुपमा उल्लेख गर्ने निर्णय गरेको थियो । 


Author

थप समाचार
x