राजनीति

जसपा विवाद

निर्वाचन आयोगले गर्‍यो उपेन्द्र र महन्थका पत्र खारेज

राजनीतिक दलसम्बन्धी नियमावली विपरीत भएकाले प्रक्रिया पुर्‍याएर पुनः पत्र पठाउन भन्छौं : सचिव अधिकारी

मधुसुधन भट्टराई |
जेठ १९, २०७८ बुधबार १५:२७ बजे

काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा) का दुई पक्षले एक अर्कालाई निष्कासन गर्दै दिएको जानकारीको प्रक्रिया नपुगेको निर्वाचन आयोगले जनाएको छ । दुवै अध्यक्षले एकले अर्कालाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरी निष्कासन गरेका पत्र राजनीतिक दलसम्बन्धी नियमावली २०७३ (पहिलो संशोधन) अनुरुप नभएकोले बदर गरिएको निर्वाचन आयोगका सचिव सुरेश अधिकारीले जानकारी दिए । 

‘जनता समाजवादी पार्टीबाट आएका दुई पत्र मंगलबार आयोगमा दर्ता भएका थिए । एउटामा महन्थ ठाकुरले सही गरेर उपेन्द्र यादवलाई निष्कासन गरेको र अर्कोमा उपेन्द्र यादवले सही गरेर महन्थ ठाकुरलाई निश्कासन गरिएको भन्‍नु भएको छ,’ सचिव अधिकारीले इकागजसँग भने, ‘दुवै पत्र राजनीतिक दल सम्बन्धी नियमावलीको अनुसूची अनुसार छैनन् । अनुसुची अनुसारको फाराम अनुसार पत्र नआएकाले आयोगले रद्द गरेको छ ।’


ठाकुर र यादवलाई नियमावलीको अनुसूची अनुरुप पत्र पठाउन आयोगले बुधबारै पत्र पठाउने अधिकारीले बताए । ‘राजनीतिक दलसम्बन्धी नियमावलीको अनुसूची बमोजीम फाराम समावेश गरेर फेरि पत्र पठाउनू भन्ने व्यहोरा उल्लेख गरेर दुवै जनालाई आयोगले आज पत्र पठाउँछ,’ सचिव अधिकारीले भने । 

ठाकुरले पठाएको पत्रमा कार्यकारिणी समिति बैठकको माइन्यूट नभएकोले त्यो समेत पठाउन भन्दै पत्र पठाइने उनले बताए । यादवको पत्रमा भने माइन्यूट रहेको अधिकारीले बताए । ‘महन्थ ठाकुर समूहबाट आएको पत्रमा बैठकको माइन्यूटसमेत समावेश नभएको देखियो । उहाँलाई निर्णयको माइन्यूटसमेत समावेश गरेर पठाउनु भनेर पत्रमा भन्छौं,’ अधिकारीले भने । 

आयोगको पत्र पुगेपछि उनीहरूले नियमावलीको अनुसूची अनुरुप पत्र पठाएपछि मात्रै प्रक्रियामा जाने सचिव अधिकारीले बताए । 
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले पहिला कानुन अनुरुप पत्र आएका छन् कि छैनन् दलसम्बन्धी हेर्ने महाशाखाले एकिन गरेपछि मात्रै थप प्रक्रिया सुरु गर्ने बताए । ‘जसपाका दुवै समूहका पत्र दर्ता भएको जानकारी आएको छ । अब दलसम्बन्धी महाशाखाले कानुन अनुरुप छ कि छैन एकिन गरेर बोर्ड बैठकमा पेश गर्छ,’ प्रमुख आयुक्त थपलियाले भने । 

राजनीतिक दलसम्बन्धी नियमावलीमा निर्वाचन आयोगमा पेस भएको केन्द्रीय समिति र संसदीय दलको बहुमतले पार्टी अनुशासनविपरीत काम गर्नेलाई कारबाही गर्न सक्छ । अहिले संसद् नभएकाले केन्द्रीय कार्यासमितिको बहुमतले कारबाही गर्न सक्छ । जसपाले केन्द्रीय समितिको रुपमा केन्द्रीय कार्यकारिणी समितिको नाम पेस गरेको थियो । 

यादव र ठाकुर दुवैले राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ५१ बमोजिमएकले अर्काको नाम हटाएर अद्यावधिक गरिदिनु भनेका छन् ।
 
यादवले मंगलबार अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र यादव, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टीको साधारण सदस्यबाटै निष्कासन गरेको पत्र आयोगमा पठाउँदै दर्ता किताबाट नाम हटाउन आग्रह गरेका थिए ।
 
त्यसको ‘काउन्टर’ मा ठाकुर पक्षले यादवलाई पनि पार्टीबाट निष्कासन गर्दै उस्तै व्यहोरा आयोगमा जानकारी दिएका थिए । 

यादवले आयोगमा पठाएको पत्र

ठाकुरले आयोगमा पठाएको पत्र


Author

मधुसुधन भट्टराई

राजनीतिक मामिलामा कलम चलाउँदै आएका भट्टराई विशेष संवाददाता हुन् ।


थप समाचार
x