क्यानडाको राजदूतमा भरतराज पौड्यालको नाम सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन
काठमाडौँ- संसदीय सुनुवाइ समितिले क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्यालको नाम सर्वसम्मत अनुमोदन गरेको छ । सिंहदरबारमा आइतबार बसेको समिति बैठकले पौड्यालको संसदीय सुनुवाइ गर्दै सर्वसम्मत अनुमोदन गरेको हो ।
यसअघि समितिको कार्तिक १५ गते बसेको बैठकले पौड्यालविरुद्ध उजुरी आह्वान गरेको थियो भने यसबीचमा पौड्यालविरुद्ध दुई वटा उजुरी परेको थियो । उजुरीकर्तामध्ये सम्पर्कमा आएका एक जनासँग समितिले आइतबार नै छलफल गरेको थियो । उजुरीलगायत भावी कार्ययोजनाका बारेमा छलफल गरी समितिले पौड्यालको नाम सर्वसम्मत अनुमोदन गरेको समिति सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
संसदीय सुनुवाइ समितिको सुनुवाइका क्रममा समिति सदस्यहरूको जिज्ञासामा प्रस्तावित राजदूत पौड्यालले यसअघि पनि सचिवलाई राजदूत सिफारिस गर्ने प्रचलन रहेको बताए । सरकारलाई आएको छात्रवृत्तिमा छोरीलाई विदेश पठाएको उजुरी पनि साँचो नरहेको उनले बताए । पौड्यालले आफू राजदूतमा नियुक्ति भएमा क्यानडामा रहेका नेपालीहरूको समस्या समाधान गर्न र दुई पक्षीय सम्बन्ध विस्तार गर्न ध्यान केन्द्रित हुने जिकिर गरे ।
हाल परराष्ट्र सचिवसमेत रहेका पौड्याललाई सरकारले क्यानडाका लागि आवासीय राजदूत एवं क्यूवा, जमैका, डोमिनिकन रिपब्लिक र हाइटीका लागि गैर आवासीय राजदूत तथा आइकाओका लागि स्थायी प्रतिनिधिको पदमा नियुक्तिका लागि सिफारिस गरेको थियो । सुनुवाइ समितिले अनुमोदन गरेसंगै राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया