कोप-२८ मा जलवायु परिवर्तनको असरको क्षतिपूर्तिको कुरा उठाउनुपर्नेमा जोड
फाइल तस्बिर
काठमाडौँ- जलवायु परिवर्तनले पारेको प्रभाव स्वरूप नेपालले पाउनुपर्ने क्षतिपूर्तिको सम्बन्धमा कोप-२८ मा नेपालले दह्रो ढंगले कुरा राख्नुपर्नेमा सांसदहरूले जोड दिएका छन् ।
आइतबार दिगो विकास तथा सुशासन समितिले आयोजना गरेको ‘जलवायु परिवर्तन लक्षित नीति तथा योजनाहरूको तर्जुमा र कार्यान्वयनको सवालमा सांसदहरूको भूमिका तथा सरोकारवालाहरूको योगदान’ विषयक परामर्श बैठकमा बोल्दै सांसदहरूले क्षतिपूर्तिको विषयमा जोड दिएका हुन् । उनीहरूले जलवायु परिवर्तनको असर नेपालमा कुन रूपमा परिरहेको छ सो स्थितिको आकलन गर्दै सोही अनुरूप क्षतिपूर्तिको माग गर्नुपर्ने बताएका हुन् ।
बैठकमा बोल्दै प्रतिनिधि सभा सदस्य मिना तामाङले सबैभन्दा पहिले नेपालको स्थितिको बारेमा नेपाल स्पष्ट हुनुपर्ने बताइन् । उनले कोप-२८ मा नेपालले ठोस र मूर्त रूपमा कुरा राख्नुपर्ने बताइन् । पुरस्कार अथवा क्षतिपूर्ति के लिने हो भन्दै प्रश्न गर्दै उनले दह्रो रूपले नेपाल प्रस्तुत हुनुपर्ने बताइन् ।
त्यस्तै प्रतिनिधि सभा सदस्य विना तामाङले जलवायु परिवर्तनको असर र प्रभावहरूको सम्बन्धमा जनचेतना जगाउने काम गर्नुपर्ने जिकिर गरिन् । उनले जलवायु परिवर्तनको कारणले विभिन्न प्रकोपहरू गइरहेका र त्यसले मानसिक अवस्था समेत कमजोर हुँदै गइरहेको भन्दै त्यसतर्फ पनि ध्यान दिनुपर्ने बताइन् । उनले ऐन र नीतिहरू सहज रूपमा बजेट कार्यान्वयन हुने गरी बनाउनुपर्नेमा पनि जोड दिइन् ।
राष्ट्रिय सभा सदस्य भुवनबहादुर सुनारले जलवायु परिवर्तनले ल्याएका असरहरूका कारण गरिबहरू बढी प्रभावित भइरहेका बताए । उनले गरिब जनताहरू मारमा परेको भए पनि पहुँचवाला मान्छेको पक्षमा बहस र छलफल हुने गरेको भन्दै प्रभावितहरूको पक्षमा छलफल गर्नुपर्ने बताए ।
प्रतिनिधि सभा सदस्य वीरबहादुर बलायरले सरकारले ल्याउने नीतिमा जलवायु परिवर्तन र दिगाे विकास लक्ष्यको सम्बन्धमा ध्यान नदिइएको भन्दै त्यसतर्फ ध्यानाकर्षण गराए । उनले जलवायु परिवर्तनका कारण मानव अस्तित्व नै संकटमा पर्न लागेको भन्दै मानव अधिकारको कुरालाई जोडदार ढंगले उठाउनुपर्ने बताए ।
उनले चुरे क्षेत्र मानवसहितको बनाउने कि मानवरहित बनाउने भन्ने विषयमा पनि सरकार स्पष्ट हुनुपर्ने बताए । चुरे क्षेत्रमा मानव बसोवास गरिए स्वाभाविक रूपमा चुरे दोहन हुने उनको भनाइ छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया