राजनीति

चुरे दोहन गर्न सरकारले लिएको नीति खरानीको व्यापार गर्न घर जलाए जस्तो : कांग्रेस

इकागज |
जेठ १९, २०७८ बुधबार १९:६ बजे

काठमाडौँ : नेपाली कांग्रेसले चुरे दोहन गरेर, पानीको स्रोत सुकाएर ब्यापार घाटा न्यून गर्ने नारा खरानीको ब्यापार गर्न घर जलाए जस्तै भएको बताएको छ । सभापति शेरबहादुर देउवाले बुधबार विज्ञप्ति जारी गर्दै सरकारले संसद विघटनको असंवैधानिक कदम चालेको समयमा बजेट वक्तव्य मार्फत चुरे दोहनलाई मार्ग प्रशस्त गर्न लिएको नीतिलाई कांग्रेसले गम्भीर रूपमा लिएको बताएका छन् । 

‘विगतमा चुरे क्षेत्रबाट ढुंगा, गिटी, बालुवा उत्खनन गरिंदा त्यसले पानीका स्रोतहरू सुक्न थालेको, भू–क्षय बढेको र समग्रमा पर्यावरणलाई गम्भीर असर परेको अध्ययन विश्लेषण गरिएका हुन्,’ देउवाले विज्ञप्तिमा लेखेका छन्, ‘विगतका गल्ती सच्याएर अघि बढ्न निश्चित गरिएको नीतितलाई विस्थापित गरेर पुनः दोहनलाई प्रोत्साहन सामान्य गल्ति होइन, प्रकृति विरुद्धको अपराध र देशको तराई–मधेस क्षेत्रलाई भविष्यमा मरुभूमिकरण गर्ने गम्भीर षड्यन्त्र हो ।’


देउवाले पार्टीका तत्कालीन सभापति सुशील कोइरालाको नेतृत्वको सरकारले ‘राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति’ गठन गरेर चुरे क्षेत्रको दोहन रोक्न र चुरे संरक्षण गर्न विकास समिति मार्फत विभिन्न मापदण्ड निर्धारण गर्दै ढुंगा, गिटी, बालुवा उत्खनन र निकासीमा रोक लगाएको बताएका छन् । त्यसबारे देउवाले थप लेखेका छन्, ‘त्यो नीति र निर्णयलाई विस्थापित गर्दै ‘ब्यापार घाटा न्यूनीकरण गर्न’ भन्‍ने नारा दिएर ढुंगा, गिटी, बालुवा निकासीको कार्यक्रम ल्याउनु ‘खरानीको ब्यापार गर्न घर जलाए जस्तो’ मात्रै हो ।’ 

देउवाले देशले वर्सौंदेखि ब्यापार घाटा ब्यहोरिरहेको सन्दर्भमा त्यसलाई न्यून गर्न या सन्तुलनमा ल्याउन तराई-मधेस र समग्र देशलाई नै दीर्घकालीन असर पर्ने कदम चाल्नु स्वीकार्य हुन नसक्ने बताएका छन् । 


Author

थप समाचार
x