राजनीति

विपिन जोशीलाई बिनासर्त रिहाइ गर्न अन्तर्राष्ट्रिय शक्तिहरूसँग आग्रह गर्ने संसदीय समितिको निर्णय

इकागज |
मंसिर १४, २०८० बिहीबार १४:५५ बजे

काठमाडौँ- अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले हमासको बन्धनमा रहेका नेपाली विद्यार्थी विपिन जोशीलाई बिनासर्त रिहाइ गर्न अन्तर्राष्ट्रिय शक्तिहरूसँग आग्रह गर्ने निर्णय गरेको छ ।​ बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको संसदीय समितिले अन्तर्राष्ट्रिय समुदायसँग बिनासर्त रिहाइ गर्न आग्रह गर्ने निर्णय गरेको हो ।

बैठकपछि निर्णय सुनाउँदै समिति सभापति राजकिशोर यादवले विपिन जोशीकाे बिनासर्त अविलम्ब रिहाइका लागि हमासलगायत अन्तर्राष्ट्रिय शक्तिहरूसँग आग्रह गर्ने निर्णय भएको बताए । उनले भने, ‘नेपाली युवा जो इजरायल जानुभएको थियो विपिन जोशी । हमासले इजरायलमा आक्रमण गर्दा विपिन जोशीलाई बन्धक बनाएको भन्ने छ तर अहिलेसम्म जानकारी छैन । विपिन जोशीको बिनासर्त अविलम्ब रिहाइका लागि हमासलगायत अन्तर्राष्ट्रिय शक्तिहरूसँग आग्रह गरेका छौँ ।'


उनले नेपाल कुनै पनि पक्षधरता देश नरहेको र जहिले पनि शान्तिको वकालत गर्ने भएकाले नेपालका नागरिकलाई कुनै पनि कारणबिना बन्धक बनाइनु नहुने बताए ।

'नेपाल कुनै पनि पक्षधरता देश नरहेको र हामी जहिले पनि शान्तिको वकालत गर्ने भएकाले हाम्रो नागरिकलाई कुनै पनि कारणबिना यसरी बन्धक बनाइनु हुँदैन । यो समितिको भावी कार्ययोजना र समितिको कार्य प्राथमिकीकरण ६ महिनाको लागि तय गर्न एउटा कार्यदल निर्माण गरेका छौँ,' उनले भने । 

साथै उनले समितिको बैठकले समितिको ६ महिनाको भावी कार्ययोजना र समितिको कार्य प्राथमिकीकरणका लागि नौ सदस्यीय कार्यदल गठन गरेको जिकिर गरे । उनले कार्यदलले समितिको प्राथमिकीकरण कुन विषयलाई कहिले टुंग्याउने भन्ने निष्कर्ष निकाल्ने बताए ।

कार्यदलका संयोजक राजकिशोर यादवसहित सदस्यमा उदय समशेर जबरा, एकनाथ ढकाल, छिरिङ यामु लामा, देवीप्रकाश भट्टचन, डा. धवल समशेर जबरा, प्रेम सुवाल, शिशिर खनाल, सम्झना थपलिया छन् ।


Author

थप समाचार
x