अपाङ्गतामैत्री नीति, नियम र कानुन बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री ज्वाला
काठमाडौँ- भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले अपाङ्गतामैत्री अहिलेसम्म बन्न नसकेका नीति, नियम र कानुन बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । आइतबार ३२ औँ अपाङ्गता भएका व्यक्तिहरूको दिवस विशेष कार्यक्रममा सम्बोधन गर्दै भौतिक पूर्वाधारमन्त्री ज्वालाले यस्तो बताएका हुन् ।
मन्त्री ज्वालाले अपाङ्गता भएका व्यक्तिहरूलाई सरकारले प्रोत्साहन गर्ने गरी नीति, नियमहरू बनाउने तयारीमा रहेको जिकिर गरे । उनले सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटमा समेत अपाङ्गतामैत्री कार्यक्रम ल्याएर अपाङ्गता भएकाहरूको एजेण्डाहरूलाई सम्बोधन गर्ने कुरामा प्रतिबद्ध रहेको उल्लेख गरे । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पनि कसरी अपाङ्गतामैत्री सार्वजनिक बस, सडक र पुलहरू बनाउने भन्ने विषयमा सबैसँग छलफल गरी अगाडि बढाउने तयारी गरिरहेको उनकाे भनाइ छ ।
मन्त्री ज्वालाले मुलुकको समग्र भौतिक पूर्वाधारलाई अपाङ्गतामैत्री बनाउने विषयमा सरकार गम्भीर भएर लागि रहेको पनि बताए । उनले सरकारले बनाउने १६ औं योजनामा पनि अपाङ्गता भएकाहरूको माग सम्बोधन गरिने बताए ।
३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता; अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धता’ भन्ने मुल नारासहित प्रभातफेरी गरेको छ । प्रभातफेरीमा विभिन्न संघसंस्था, विद्यालयलगायतको सहभागिता रहेको थियो ।
संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९९२ मा घोषणा गरेदेखि हरेक वर्ष डिसेम्बर ३ मा अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस विश्वभर मनाउने गरिन्छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया