राजनीति

विदेशिएका युवा अब स्वदेश फर्किनुपर्छ : अध्यक्ष तिमिल्सिना

इकागज |
मंसिर १९, २०८० मंगलबार १४:५४ बजे

काठमाडौँ- राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विदेशिएका युवालाई स्वदेश फर्कन आग्रह गरेका छन् । विदेशमा आर्जन गरेको ज्ञानलाई मुलुक समृद्ध बनाउनका लागि स्वदेश फर्कन उनले आग्रह गरेका हुन् ।

राष्ट्रिय बाल अधिकार परिषदले आज आयोजना गरेको कार्यक्रममा बोल्दै उनले देशमा केही छैन भन्नुभन्दा देशमा फर्केर केही गर्छु भन्ने सोच्न बनाउन आवश्यक रहेको बताए ।


अध्यक्ष तिमिल्सिनाले देश बिग्रनुको दोष सबै नेतालाई दिन नहुने धारणा राखे । 'राजनीतिज्ञले देशमा बस्ने वातावरण नै बनाइदिएनन् भनेर झोला बाेकेर हिँड्नुभन्दा अब युवाले मिलेर देश बनाउनमा लाग्नुपर्छ । युवा अवस्थामै देशको नेतृत्व गर्ने प्रधानमन्त्री भएर निस्किनुपर्छ । त्यसका लागि म सहयोग गर्न तयार छु,' उनले भने । 

उनले आफ्नो खेत बाँझो राखेर विदेशमा मजदुरी गर्न जान नहुने बताए । अब आउने चुनावमार्फत विकास गर्ने नेतालाई निर्वाचित गरी युवाले आफ्नो दायित्व निभाउनुपर्ने उनको भनाइ थियो । 

राष्ट्रिय बालअधिकार परिषदका उपाध्यक्ष बमबहादुर बानियाँले बालबालिका पनि राजनीतिबारे सचेत हुन आवश्यक रहेको बताए । उनले भने, 'बालबालिका राजनीतिक प्रचारप्रसारमा लाग्न पाइँदैन तर राजनीतिक ज्ञान हासिल गर्न अहिलेको आवश्यकता रहेको छ ।'

सम्मेलनका संयोजक तथा जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलले सरकारले अब युवालाई देशमै बस्ने वातावरणको सिर्जना गर्न सहयोग गर्नुपर्ने बताए ।


Author

थप समाचार
x