राजनीति

विपिन जोशीको रिहाइको पहल गर्न कतारका राजदूतलाई परराष्ट्र मन्त्री साउदको आग्रह

इकागज |
मंसिर १९, २०८० मंगलबार १५:४७ बजे

काठमाडौँ–परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा अवस्था अज्ञात रहेका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि पहल गरिदिन फेरि कतार सरकारसँग आग्रह गरेका छन् । 

परराष्ट्र मन्त्रालयमा मंगलबार कतारका राजदूत मिशाल मोहम्मद अल अन्सारीसँग विद्रोही हमासको नियन्त्रणमा रहेका भनिएका जोशीको रिहाइका लागि सबै उपाय लगाउन आग्रह गरेका हुन् । 


जवाफमा राजदूत अन्सारीले इजरायल र विद्रोही हमासबीच पुनः सुरु भएको युद्ध रोक्न कतार सरकारले पहल गरिरहेको बताए ।  साथै उनले नेपाली विद्यार्थी जोशीसहितका अपहरणमा परेकाहरूको रिहाइका लागिसमेत प्रयास जारी रहेको जवाफ दिए ।  

‘इजरायल र हमासबीच पुनः युद्ध सुरु भएको छ । परिस्थिति जटिल छ। यद्यपि, अर्को युद्ध विरामका लागि पहल भइरहेको छ,’ परराष्ट्रमन्त्री साउदसँग राजदूत अन्सारीले भने, ‘हामीले बन्दीहरु छुटाउनका लागि पनि प्रयास गरिरहका छौैैँ ।’

मन्त्री साउदले यसअघि मंसिर ८ गते कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखारीसँग मन्त्रालयमा भएको भेटमा जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए ।

यस्तै मन्त्री साउदले मंसिर ७ गते इजरायलका राजदूत हनान गोडरलाई मन्त्रालयमा बोलाएर जोशीको रिहाइका बारेमा कुरा गरेका थिए । 


Author

थप समाचार
x