राजनीति

प्रदेश २ को सम्पूर्ण भू-भाग मरुभूमीकरण हुने र शतप्रतिशत जनताकै बिल्लीबाठ हुने बजेट सच्याइयोस् : मुख्यमन्त्री राउत

इकागज |
जेठ २०, २०७८ बिहीबार १७:१६ बजे

काठमाडौँ  : चुरे क्षेत्रको खानीजन्य ढुंगा, गिटी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनिकरण गर्ने केन्द्र सरकारको बजेट वक्तव्यप्रति प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।  मुख्यमन्त्री राउतले आज बिहीबार एक विज्ञप्ति जारी गर्दै संघ सरकारको अदुरदर्शी निर्णयले देशकै अन्न भण्डारको रुपमा रहेको प्रदेश २ को सम्पूर्ण भूभाग मरुभूमिकरण भई सबै जनताको बिल्लीबाठ हुने बताएका हुन् । उनले चुरे दोहनले प्राकृतिक सम्पदाको नाश हुने पनि बताएका छन् ।

‘नेपाल सरकारको यस्तो अदुरदर्शी निर्णयले प्रदेश नं.२ बाट ढुंगा, गिटी, बालुवा, उत्खनन् गर्ने योजनाले देशकै अन्न भण्डारको रूपमा रहेको प्रदेश नं.२ को सम्पूर्ण भू–भाग मरुभूमीकरण भई शतप्रतिशत जनताको बिल्लीबाठ हुने निश्चित छ,’ राउतले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘त्यसकारण वन विनाश, वातावरणीय सन्तुलन जैविक विविधताको संरक्षणको साथै प्रदेश २ लाई मरुभूमीकरण हुनबाट जोगाउने कार्यप्रति प्रदेश सरकार सजग छ ।’ 


राउतले नेपाल सरकारको बजेट वक्तव्यलाई सच्याउन पनि आग्रह गरेका छन् ।  सरकारले बजेट वक्तव्य नसच्याए प्रदेश सरकारले सम्पदा रक्षाका लागि आवश्यक निर्णउ गर्ने पनि राउतको भनाइ छ ।  


Author

थप समाचार
x