राजनीति

सरकारले मात्रै महिलामाथिको विभेद अन्त्य गर्न सक्दैन : मन्त्री आचार्य

इकागज |
मंसिर २३, २०८० शनिबार १८:१८ बजे

काठमाडौँ- महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्र राज आचार्यले सरकारले मात्रै महिलामाथिको विभेद अन्त्य गर्न नसक्ने बताएका छन् ।

नेपाल प्रेस युनियनले शनिबार काठमाडौँमा आयोजना गरेको समान सहभागिताका लागि सञ्चारकर्मीको भूमिका विषयक कार्यक्रममा मन्त्री आचार्यले महिलामाथिको विभेद अन्त्य गर्न समाजमा सचेतना ल्याउनुपर्ने र सरकारले संविधानमा उल्लेख कानुन कार्यान्वयनमा जोड दिनुपर्ने बताए ।


उनले संविधानमा उल्लेख समावेशीको विषयलाई कार्यान्वयनमा लैजान सरोकारवाला सबै गम्भीर हुनुपर्नेमा जोड दिए ।

मन्त्री आचार्यले निर्वाचनमा पनि दलहरूले समानुपातिक ढंगले महिलाहरूलाई स्थान दिन नसकेको जिकिर गरे । उनले महिला विभाग खारेज गर्ने निर्णय आफू मन्त्रालय आउनुभन्दा पहिले नै भएको दाबी गरे । विभाग खारेज भए पनि यसले गर्ने काम अब मन्त्रालयको एउटा शाखाले गर्ने उनले जानकारी दिए ।

कार्यक्रममा प्रेस युनियनका अध्यक्ष शिव लम्साललगायतले सञ्चार गृहमा महिला सञ्चारकर्मीले सहज रूपमा काम गर्ने वातावरण निर्माण गर्नुपर्ने र अनुगमन निरन्तर हुनुपर्नेमा जोड दिएका थिए । 


Author

थप समाचार
x