कांग्रेस नेता राणाको समन्वयमा बज्रबाराही अस्पताललाई २ वटा भेन्टिलेटर सहयोग
काठमाडौँ : नेपाली कांग्रेस नेता उदयशमशेर राणाको समन्वयमा ललितपुरको बज्रबाराही अस्पताललाई २ वटा भेन्टिलेटर सहयोग गरिएको छ । कोभिड संक्रमणलाई मध्यनजर गर्दै राणाले नेपाल भेन्टिलेटर सर्भिससँग समन्वय गरी ललितपुरको गोदावरी नगरपालिकामार्फत बज्रबाराही अस्पताललाई दुई वटा भेन्टिलेटर उपलब्ध गराएका हुन् ।
बिहीबार राणाले एक कार्यक्रमकाबीच नगरपालिकाका मेयर गजेन्द्र महर्जनमार्फत भेन्टिलेटर वितरण गरेका हुन् । दोस्रो चरणको कोभिडको महामारी सुरु भएपछि अस्पताललाई सक्रिय र बलियो बनाउन र सेवाग्राहीले राम्रो सेवा पाउन् भन्ने उद्देश्यले स्वास्थ्य उपकरण सहयोग गर्दै आएको राणाले बताए ।
‘सहरमा मात्रै नभइ सहरभन्दा बाहिर पनि कोभिड संक्रमण फैलिएकोले स्वास्थ्यको जोखिम ख्याल गर्दै भेन्टिलेटर बज्रबाराही अस्पताललाई उपलब्ध गराइएको हो,’ उनले भने । जनशक्तिको सीमितताले ठूलोको सट्टा सानो खालको भेन्टिलेटर उपलब्ध गराइएको राणाको भनाइ छ ।
उक्त भेन्टिलेटर बज्रवाराही चापागाउँ अस्पतालले आजैदेखि प्रयोगमा ल्याएको छ । कोरोना संक्रमितको संख्या बढेसँगै अक्सिजन, आइसियू तथा भेन्टिलेटरको अभावमा संक्रमितको ज्यान गइरहेको अवस्थामा भेन्टिलेटर सञ्चालनमा आएपछि नागरिकको जीवन रक्षामा मद्दत पुग्ने अस्पतालको विश्वास छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया