रैथाने बाली उत्पादनमा जोड दिऔँ : अर्थमन्त्री महत
नुवाकोट- अर्थमन्त्री डा. प्रकाशशरण महतले रैथाने बालीको उत्पादन र जोड दिन आग्रह गरेका छन् । प्रथम नुवाकोट खेलकुद तथा सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै मन्त्री डा. महतले यस्ताे आग्रह गरेका हुन् ।
उनले भने, 'रैथाने बालीको बजार र माग पर्याप्त छ । थोरै उत्पादन भयो भने पनि मूल्य धेरै पाइन्छ । अब हामीले यतातिर ध्यान दिनुपर्छ ।’
मन्त्री डा. महतले रासायनिक मल, कीटनाशक औषधिले रोगब्याधी बढ्दै गरेकाे र नयाँ-नयाँ रोग देखापरेकाे पनि जिकिर गरे । उनले मानिसका सबै खानपान र जीवनशैलीले गर्दा जीवनशैली सुहाउँदो उत्पादनलाई प्रवर्द्धन गर्न उन्मुख हुन आग्रह गरेका छन् ।
महोत्सवमार्फत नुवाकोटको कला संस्कृति, सभ्यता, खेलकुद उत्पादन र विविध विशेषता झल्कने बताउँदै महोत्सव हेर्न आउनेले जिल्लाको विविधता चिन्ने अवसर पाउने मन्त्री डा. महतले बताए ।
मन्त्री महतले भने, ‘देशको सांस्कृतिक र भौगोलिक, जलवायु, वनस्पति, चराचुरुङ्गी, जातजाति, भाषा र भेषभुषाको विविधता नेपालको गौरव हो । यो विविधताको संरक्षण हुनुपर्छ । जति धेरै विविधता छ, त्यत्ति धेरै हामी समृद्ध हुँदै जान्छौं ।’
हरेक जातिको पहिरन, खानपान, रहनसहन, लवाइखुवाइ र हजारौं वर्षदेखि विकसित जीवनशैली संरक्षण हुनुपर्छ । हामीले मौलिकता छोड्दा नेपालको पहिचान गुम्ने डर भयो । अहिले पुनर्जागरण देशमै आइरहेको छ । हाम्रो धर्म संस्कृति र जीवनशैलीमा धेरै ठूलो शक्ति रहेको उनकाे भनाइ थियो ।
‘हाम्रो रैथाने बाली धेरै महत्वपूर्ण छ । पहिला रैथाने बाली उत्पादन हुन्थ्यो, पछिल्लो समय धेरै उत्पादन गर्ने नाममा रैथाने बाली लगाउन छाड्यौँ,’ उनले भने, ‘पेट भर्नलाई अहिले हामीलाई धेरै उत्पादन चाहियो । रैथाने उत्पादन थोरै हुन्छ, बजार पनि यथेष्ट थिएन ।’
‘नेपालमा अहिले हुनेखाने समूह जन्मियो । विदेशमा पनि यसको माग बढ्यो । थोरै उत्पादन भए पनि प्रतिफल धेरै पाउन थालियो,' मन्त्री महतले अगाडि भने, 'आधुनिक खेतीको एक मन बेच्नुस् जति आउँछ, रैथाने अथवा आर्गनिक बाली बिक्री गरियो भने दोब्बरभन्दा बढी आम्दानी हुन्छ ।’
नुवाकोटमा उत्पादन हुने फलफूल र तरकारी एक डेढ घण्टामा हामी काठमाडौँको बजारमा पुर्याउन सक्ने सम्भावना औंल्याउँदै महतले भने, 'सडक सञ्जालको विस्तार भएको छ, अब घरमा बसेर काठमाडौंमा जागीर खान सकिन्छ, डेरा लिइराख्नु पर्दैन ।’
कार्यक्रममा विभिन्न विभिन्न सांस्कृतिक झाँकी, गीत, संगीत र सांस्कृतिककर्मीले नृत्य प्रस्तुत गरेका थिए भने खेलाडीहरूले तेक्वान्दोका खेलहरू सांगीतिक महोलमा प्रदर्शन गरेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया