राजनीति

सरकारले सांस्कृतिक गाउँ बनाउन सुरु गरेको छ : मन्त्री किराती

इकागज |
मंसिर २९, २०८० शुक्रबार २१:४२ बजे

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले सरकारले सांस्कृतिक गाउँ बनाउन सुरु गरेको बताएका छन् ।

शुक्रबार सांस्कृतिक संस्थानले आयोजना गरेको ठेट नेपाली सांस्कृतिक कार्यक्रम ‘माटोको गीत’ उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री किरातीले सरकारले देशका केही ठाउँहरूमा सांस्कृतिक गाउँ बनाउन सुरु गरेको बताएका हुन् । उनले एउटा गाउँबाट नेपालको पुरा सांस्कृतिक चित्र देखिने गरी सांस्कृतिक गाउँ बनाउन लागिएको जिकिर गरे ।


मन्त्री किरातीले लोकगीत, उखान टुक्का, कथा, मुन्धुम र कैरनहरूमा रहेका कतिपय विषयहरूलाई रेकर्ड गरेर राख्न मौखिक ज्ञान संग्रहालय बनाउन लागेको पनि बताए । उनका अनुसार रैथाने विश्वविद्यालयको अवधारणा अघि सारिएकाे छ ।

मन्त्री किरातीले आफूहरू संस्कृति ऐन निर्माणका लागि अगाडि बढेको पनि बताए ।

उनले सांस्कृतिक सम्पदाहरूलाई राष्ट्रको पुँजीमा बदल्नको निम्ति, उत्पादन र उद्योगमा संस्कृतिलाई जोड्नको निम्ति र नेपालको अनुहार एक मञ्चबाट विश्वलाई एक साथ देखाउनको निम्ति माटोको गीत सांस्कृतिक कार्यक्रम गरिएको बताए । उनले संस्कृतिको प्रवर्द्धन गर्न, पर्यटकलाई खुशी पार्न, कलाकारलाई रोजगारी सिर्जना गर्न र सांस्कृतिक संस्थानलाई कामकाजी बनाउन पनि सो कार्यक्रमको आयोजना गरिएको स्पष्ट पारे । उनले सांस्कृतिक कुटनीतिलाई विस्तार गर्ने उद्देश्यले पनि सो कार्यक्रम गरिएको बताए ।

 


Author

थप समाचार
x