सिंहदरबारबाटै नारायणगढ-बुटवल र मुग्लिन-पोखरा सडकको ‘भर्चुअल’ निरीक्षण
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा रहेको ‘एक्सन रुम’ बाट निर्माणाधीन नारायणगढ-बुटवल सडक खण्ड र मुग्लिन-पोखरा सडक खण्डको ‘भर्चुअल’ निरीक्षण गरेका छन् ।
आज दिउँसो सिंहदरबारबाट प्रधानमन्त्रीले निर्माणाधीन दुई सडक खण्डका बारेमा जानकारी लिए । निरीक्षणपछि प्रधानमन्त्रीले भने, 'हाम्रा परियोजना भनेजस्तो जस्तो गरी अगाडि बढेनन् र जनताले महसुस गर्ने गरी कामको प्रगति भएन । यसबाट सन्तुष्ट हुनसक्ने अवस्था देखिँदैन । यसतर्फ हाम्रो भूमिका गुणात्मक रूपले बढाउनुपर्छ ।'
गिटी, बालुवा ढुङ्गा, विद्युतका सानातिना समस्या सरकारले शीघ्र समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्रीले भने, 'फिल्डका कार्यालयले समयमै सम्बन्धित ठाउँमा नियमित प्रतिवेदन गर्नुपर्यो । समयमै कुरा आए समाधान गर्न सजिलो हुन्छ । दिनहुँ जनताले समस्या भोग्नुपर्ने समस्या अन्त्य हुनपर्छ ।'
परियोजनाहरू निर्धारित लक्ष्यअनुसार नै अघि बढ्नुपर्नेमा जोड दिँदै उनले तोकिएको समयमा नै आयोजना सम्पन्न गर्न निर्देशन दिए । विविध कारण देखाएर निर्माणमा विलम्ब भयो भन्न नपाइने उनको भनाइ छ । प्रधानमन्त्रीले भने, 'यी दुई परियोजना अत्यन्तै महत्त्वपूर्ण छन् । समयमै सकिनुपर्छ, म पनि परियोजना निरीक्षणका लागि फिल्डमै आउँछु, अब धेरै समय विकासका कामलाई दिन्छु ।'
अब पनि सुधार भएन र प्रगति भएन भन्ने छुट कसैलाई नभएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भने, 'राष्ट्रिय गौरवका योजनामा काम दुई सिफ्टमा गराउनुपर्छ । यसका लागि गम्भीर गृहकार्य गरौँ । यो काम गर्ने अन्तिम अवसर हो । सबैले एकपटक सदुपयोग गरौँ ।'
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया