केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्ता सबै सांसदसँग एकैपटक छलफल गरिने
फाइल तस्बिर
काठमाडौँ- कानुन, न्याय तथा मानव अधिकार समितिले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधन हाल्ने सबै सांसदहरूसँग एकैपटक छलफल गर्ने भएको छ ।
कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक आइतबार (आज) राखिएको थियो । आजको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा संशोधन प्रस्तावकर्ता सांसदहरूसँग छलफल गर्ने कार्यसूची रहेको थियो । सोहीअनुरूप संशोधनकर्ता केही सांसदहरूलाई बोलाइएको पनि थियो । तर, बैठकमा उपस्थित संशोधनकर्ता सांसदहरूले सबै संशोधनकर्ता सांसदहरूको सामूहिक उपस्थितिमा संशोधनमाथि छलफल गर्नुपर्ने आग्रह गरेपछि बैठक स्थगित भएको हो ।
समिति सभापति विमला सुवेदीले समिति सदस्यहरूको आग्रह बमोजिम आगामी बैठक पुष १६ गते बिहान ११ बजे बस्ने गरी बोलाइएको जानकारी गराइन् । उनले आगामी बैठकमा विधेयकमाथि संशोधन प्रस्ताव राख्ने सबै सांसदहरूलाई बोलाइने बताइन् । सभापति सुवेदीले आजको बैठकमा ६२ जना संशोधनकर्ताहरूमध्ये ५६ जनालाई खबर गरिएको भए पनि त्यसमध्ये १९ जनाले बैठकमा उपस्थिति जनाउने प्रतिबद्धता जनाएअनुरूप बैठक राखिएको पनि उल्लेख गरे ।
आगामी बैठकका लागि समितिले संशोधनकर्ताहरूलाई फोनसँगै म्यासेज पनि गर्ने उनको भनाइ छ ।
बैठकमा नेकपा एमालेका सांसद रघुजी पन्तले सबै संशोधनकर्ताहरूलाई एकैपटक बोलाएर संशोधन प्रस्तावमाथि छलफल गर्नुपर्ने बताए । उनले आफूहरू सबै संशोधनकर्ताहरूको कुरा सुन्न चाहेको बताए । उनले सबैलाई एकैपटक नबोलाएर प्रतिनिधि सभा नियमावलीको अधिकार कुण्ठित गरिएको बताए ।
स्वतन्त्र सांसद अमरेशकुमार सिंहले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमार्फत एकै पटक ४०/५० वटा ऐन संशोधन गर्नु राज्य प्रतिको डकैती भएको बताए । केही संशोधनकर्ताहरूलाई मात्रै बोलाएर संशोधनउपर छलफल गर्नु प्रक्रियागत त्रुटी भएको भन्दै उनले सबैलाई एकैपटक बोलाएर प्रक्रियागत रूपमा बैठक राख्नुपर्ने बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले विधेयकमा सत्तापक्षका सांसदहरूले समेत संशोधन हालेका भन्दै सत्तापक्षीय सांसदहरू कुन कित्तामा उभिन्छन् आफूहरूले बैठकमै हेर्न चाहेको बताए । उनले पनि सबैलाई एकै पटक बोलाएर छलफल गर्नुपर्नेमा जोड दिएका थिए ।
नेकपा एमालेकी सांसद प्रतीक्षा तिवारीले पनि सबै संशोधनकर्ता सांसदहरूलाई सामूहिक रूपमा बोलाउनुपर्ने धारणा राखेकी थिइन् ।
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सबै संशोधनकर्ता सांसदहरूको उपस्थितिमा बैठक राख्नुपर्ने सांसदहरूको धारणा जायज रहेको बताए । उनले पनि बैठक आगामी दिनमा संशोधनकर्ताहरूलाई संयुक्त रूपमा बोलाएर गर्नुपर्ने बताए ।
जनता समाजवादी पार्टी नेपालकी सांसद रञ्जुकुमारी झाले सबै संशोधनकर्ता सांसदहरूलाई एकै पटक बोलाउनुपर्ने तर अर्को पटक नबोलाउने धारणा राखे । संशोधनकर्ताहरू एकै पटक बसेर छलफल गर्नुपर्ने उनको पनि धारणा रह्यो ।
बोल्ने सबै सांसदहरूले सबै संशोधनकर्ताहरू एकैपटक उपस्थित भएर छलफल गर्नुपर्ने धारणा राखेपछि समितिको बैठक एक हप्तापछि धकेलिएको हो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया