दक्ष जनशक्ति विदेशिँदा मुलुकलाई क्षति भइरहेको छ : मन्त्री साउद
फाइल तस्बिर
काठमाडौँ- परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले दक्ष जनशक्ति विदेशिँदा मुलुकलाई क्षति भइरहेको बताएका छन् । सोमबार उडान शैक्षिक केन्द्रले काठमाडौँमा आयोजना गरेको विद्यार्थी प्रशिक्षण तथा अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले दक्ष जनशक्ति विदेश जाँदा मुलुकलाई क्षति भइरहेको बताएका हुन् ।
मन्त्री साउदले चिकित्सक, इन्जिनियर, प्राध्यापक, अर्थशास्त्री जस्ता धेरै पढेलेखेका मानिसहरू विदेशिरहेका भन्दै यसले देशको आर्थिक अवस्थालाई समेत असर परेको जिकिर गरे । उनले कामदारका रूपमा पनि विदेशिने गरेका भन्दै क्षमतावान् व्यक्तिहरूले देश छोड्दा देशको आर्थिक अवस्था सुदृढ हुन नसक्ने बताए ।
देशको कुल जनसंख्यामध्ये युवाहरूको जनसंख्या धेरै रहेको उल्लेख गर्दै उनले देशको विकास र आर्थिक समृद्धि गर्ने उपयुक्त समय यही भएको उल्लेख गरे ।
मन्त्री साउदले काम गर्ने जनसंख्या कम हुँदै जाँदा देशको आर्थिक विकास गर्न नसकिने बताए । उनले अहिले काम गर्ने समय भएको भन्दै सबैको ध्यानाकर्षण गराए ।
मन्त्री साउदले राज्य व्यवस्था र कर्मचारीतन्त्रभित्र नयाँ पुस्ताको प्रवेश जरुरी रहेको समेत बताए । उनले राज्यका सबै क्षेत्रहरूमा दक्ष जनशक्ति उपलब्ध हुनुपर्नेमा जोड दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया