राजनीति

देशको सांस्कृतिक परम्परालाई जगेर्ना गर्नु साझा जिम्मेवारी हो : प्रधानमन्त्री दाहाल

इकागज |
पुस १०, २०८० मंगलबार १४:३३ बजे

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले देशको सांस्कृतिक परम्परालाई जगेर्ना गर्नु साझा जिम्मेवारी भएको बताएका छन् ।​ मंगलबार ज्यापु संस्कृति विकास कोषले २० औँ राष्ट्रिय ज्यापु दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले देशको सांस्कृतिक परम्परालाई जगेर्ना गर्नु साझा जिम्मेवारी भएको बताएका हुन् ।

उनले नेपाल विभिन्न जातजाति, भाषाभाषी, धर्म र सांस्कृतिक समूहहरूको साझा देश भएको उल्लेख गर्दै देशको जैविक विविधता, मनोरम प्राकृतिक सम्पदाहरू र सामाजिक बनोट विश्वमै नमुना रहिआएको जिकिर गरे । उनले विभिन्न जातजाति, भाषाभाषी र सांस्कृतिक समूहहरूको परम्परागत मौलिक सांस्कृतिक पहिचान नै नेपालीको पहिचान र गौरव रहेको बताए ।


प्रधानमन्त्री दाहालले नेपालका चाडबाड, जात्रापर्व, सांस्कृतिक सम्पदा र गतिविधिहरू नेपालका अमूल्य निधी भएका पनि बताए । उनले ऐतिहासिक तथा सांस्कृतिक सम्पदाहरूको संरक्षण गरी आफ्नो परम्परालाई जीवन्त राख्न र विकासको नयाँ अवधारणासँग अनुकूलित तुल्याउनु पनि राष्ट्रको दायित्व भएको बताए । उनले सरकार भौतिक तथा अभौतिक संस्कृतिलाई संरक्षण र सम्वर्द्धन गर्न प्रतिबद्ध रहेको बताए ।

प्रधानमन्त्री दाहालले ज्यापु संस्कृति कोषलाई सरकारले आर्थिक सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । 


Author

थप समाचार
x