राजनीति

अर्थमन्त्री महतको दाबी : मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा गइरहेको छ

इकागज |
पुस १०, २०८० मंगलबार १४:५७ बजे

काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा गइरहेको बताएका छन् । मंगलबार चितवनमा आयोजित ‘१७ औं चितवन हात्ती तथा पर्यटन महोत्सव-२०८०’ को उद्घाटन समारोहमा बोल्दै उनले सो दाबी गरेका हुन् ।

अर्थमन्त्री महतले विभिन्न तथ्यांकहरूले पनि अर्थतन्त्र सकारात्मक बाटोमा गइरहेको देखाएको उल्लेख गर्दै त्यसलाई उपयोग गर्नुपर्छ भन्ने भाष्यलाई अगाडि बढाउन जरुरी रहेको पनि बताए । उनले जलविद्युत्, कृषि, पर्यटन र सूचना प्रविधिको क्षेत्रबाट मुलुकको अर्थतन्त्रलाई माथि पुर्याउन सकिने दोहोर्याए ।


अर्थमन्त्री महतले देशभित्रै केही गर्न युवाहरूलाई पनि आह्वान गरे । नेपालमा केही छैन भन्ने सोचेर बाहिर जानेभन्दा पनि नेपालमा केही गर्न सकिन्छ भन्ने सोच युवाहरूले राखेर अघि बढ्नुपर्ने उनको भनाइ थियो । देशमा धेरै गर्न बाँकी रहेकाले अवसर पनि यही रहेको उल्लेख गर्दै अर्थमन्त्री महतले सो अवसरलाई उपयोग गर्न युवा उद्यमीहरूलाई आग्रह गरे । उनले चितवनको पर्यटन क्षेत्रमा थप आकर्षण थप्नका लागि पूर्व-पश्चिम राजमार्ग ६ लेन र जंगल क्षेत्र ४ लेनको विस्तार गर्ने कार्यलाई सरकारले तत्काल अघि बढाउने घोषणा गरे । 

त्यस अवसरमा अर्थमन्त्री महतले निकुञ्जसम्बन्धी पुरानो ऐन सरकारले संशोधन गर्ने आश्वासन समेत दिए ।


Author

थप समाचार
x