राजनीति

भ्रष्टाचारका काण्डमा ठूला मान्छे जोडिएपछि छानबिन फितलो हुन थाल्यो : मन्त्री गुरुङ

इकागज |
पुस १३, २०८० शुक्रबार १३:४९ बजे

स्याङ्जा - कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले भ्रष्टाचारसम्बन्धी छानबिन निष्पक्ष ढङ्गले हुनुपर्ने बताएका छन् । 

भ्रष्टाचारलगायतका विभिन्न विषयमा ठूला मान्छे जोडिएपछि छानबिन फितलो हुने गरेको भन्दै यसलाई अझ दरिलो तरिकाले अगाडि बढाउनुपर्नेमा जोड दिए ।  


नेपाल प्रेस युनियन स्याङ्जाले आज वालिङमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री गुरुङले छानबिन प्रक्रियाप्रति आफू पूर्ण रुपमा सन्तुष्ट नरहेको बताएका हुन् । 'भ्रष्टाचार, तस्करी, सुनकाण्डलगायतका विषयमा जब छानबिन सुरु हुन्छ तब ठूला मान्छेको नाम जोडिन्छ अनि निष्कर्षमा पुग्न नपाउँदै रोकिन्छ, यो प्रवृत्तिको अन्त्य हुनुपर्छ, दोषी जोसुकै भए पनि सजायको भागीदार हुनैपर्छ', उनले भने । 

मन्त्री गुरुङले गठबन्धनमा रहेका पार्टीको स्वीकृतिमा प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनःगठन गर्नसक्ने बताए । मन्त्रीहरूको कामको मूल्यांकन, पार्टीको स्वीकृतिमार्फत मन्त्रिपरिषद् पुनःगठन हुनसक्ने उनको भनाइ थियो । 

'प्रधानमन्त्रीको सोचअनुसार काम गर्नसक्ने मन्त्रिमण्डलमा अटाउनु हुन्छ', उनले भने, 'सोअनुसार काम गर्न नसक्ने बिदा हुनुहुन्छ ।' मन्त्रिमण्डल पुनःगठन गर्दा गठबन्धनमा सहभागी भएका राजनीतिक दलहरुको सहमतिबाटै हुने उनको भनाइ थियो ।
 


Author

थप समाचार
x