राजनीति

बालकुमारी घटनामा म र मेरो मन्त्रालयको कुनै सम्बन्ध छैन : मन्त्री ज्वाला

इकागज |
पुस १३, २०८० शुक्रबार १६:४२ बजे

फाइल तस्बिर

काठमाडौँ- भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बालकुमारी घटनामा आफ्नो मन्त्रालय र आफ्नो कुनै सरोकार सम्बन्ध नरहेको बताएका छन् ।

शुक्रबार बालकुमारीमा कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा दिन नपाएपछि युवाहरूले गरेको प्रदर्शनका क्रममा दुई जनाको मृत्यु भएको छ । प्रदर्शनमा उत्रिएका युवाले सडक अवरुद्ध पार्दै सवारीसाधनमा आगजनी गरेका थिए । भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडी रोकेर उनीहरूले सुरुमा हावा खुस्काएका थिए । लगत्तै उनीहरूले गाडीमा आगजनी समेत गरेका थिए ।


मन्त्री ज्वाला भने आफू पार्टीको केन्द्रीय कमिटी बैठकमा आएको र आफूलाई छोडेर गाडी फर्किएपछि बाटोमा जलाइएको मात्रै जानकारी रहेको बताउँछन् । पार्टीको बैठक सकिएपछि सञ्चारकर्मीहरूसँग बालकुमारी घटनाबारे जानकारी दिँदै उनले बालकुमारी क्षेत्रमा भएको घटनाबारे दुःख व्यक्त गर्दै घटनाका सम्बन्धमा आफूलाई जानकारी नरहेको बताए । उनले घटनासँग आफू र आफ्नो मन्त्रालयको कुनै सरोकार नरहेको बताए । गाडीमा आगजनी गर्नुपर्ने कुनै कारण नरहेको पनि उनको भनाइ छ ।

मन्त्री ज्वालाले गाडीमा आगजनी भएको बाहेक अन्य घटनामा आफू जानकार नरहेको बताए । 


Author

थप समाचार
x