राजनीति

बालकुमारी घटनाप्रति दुःख व्यक्त गर्दै सरकार प्रवक्ताले भनिन् : मन्त्रीको गाडी जलाइनु अराजकता

इकागज |
पुस १३, २०८० शुक्रबार १७:४८ बजे

काठमाडौँ- सरकार प्रवक्ता​ तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बालकुमारीमा मन्त्रीको गाडी जलाइनु अराजकता भएको टिप्पणी गरेकी छन् ।

बिहीबार मन्त्रालयमा मन्त्रिपरिषद्ले गरेका निर्णयहरू सार्वजनिक गर्ने क्रममा बोल्दै मन्त्री शर्माले बालकुमारीस्थित भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडी आन्दोलनकारीहरूबाट जलाइनु अराजकता भएको टिप्पणी गरिन् । उनले घटनामा मानिसहरूको मृत्यु समेत भएको उल्लेख गर्दै सो घटना गलत र दुःखद भएको बताइन् ।


उनले यस प्रकारको अराजकतालाई कसैले पनि प्रश्रय दिनु नहुने बताइन् । उनले आफ्ना असन्तुष्टिहरू शान्तिपूर्ण राख्न पाउने सबैको अधिकार भएको भन्दै आफ्ना कुराहरू राख्ने सही बाटो यस्तो नभएको बताइन् ।

प्रवक्ता शर्माले सो घटनाको सम्बन्धमा सम्बन्धित निकायले आवश्यक पहलकदमी लिने बताइन् ।


Author

थप समाचार
x